काठमाण्डौ । इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज भदौ २८ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत भदौ ७ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। 

कम्पनीले १०० अंकित दरका कुल ६ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीयले खरिद आवेदन दिन सक्नेछन्। 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। आवेदन एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट दिन सकिनेछ। 

यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत साउन ९ गते निष्कासन अनुमति दिएको थियो। स्थानीयलाई आईपीओ बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ। 

यो कम्पनीले भोजपुरको पिखुवा खोलामा ५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।