काठमाण्डौ । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रालिको अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन्। 

बैंक तथा वित्तीय क्षेत्रमा अत्यन्तै सफल मानिएका कुँवरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष कुँवरले बुधबार नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन्। 

बैंकिङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव हासिल गरेका कुँवरले सन् १९८६ देखि तत्कालीन ग्रिन्डलेज (हाल स्टान्डर्ड चाटर्ड) बैंक लिमिटेडबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका थिए। त्यसपछि उनले नेपाल बैंक र सिटिजन्स बैंक इन्टरनेसनलमा वरिष्ठ पदमा कार्यरत हुँदै बैंक अफ एशिया, जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्। 

सन् २०२० को जुलाईमा मा ग्लोबल आइएमई बैंंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकास लिएपछि कुँवरले पछिल्ला दिनमा बैंक तथा वित्तीय क्षेत्रका विभिन्न तहका कर्मचारीहरुलाई कर्जा र जोखिमसम्बन्धी  तालिम प्रदान गर्दै  आएका थिए। 

इसेवामा अध्यक्षका रूपमा आफ्नो कार्यभार सम्हाल्दै नवनियुक्त अध्यक्ष कुवँरले भने, ‘डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडि बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ।  डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको इसेवामा आबद्ध हुन पाउँदा म निकै नै खुसी छ। मैले इसेवाको कर्पोरेट गभर्नेन्स, रणनीतिक मूल्य र कम्प्लायन्सको क्षेत्रमा आफ्ना अनुभव सेयर गर्दै कम्पनीलाई अझ धेरै उचाइमा पुर्याउन भूमिका खेल्नेछु।’

स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेर इसेवालाई आजको दिनसम्म ल्याइपुर्याउन सफल भएका र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा अत्यन्तै महत्वपूर्ण योगदान दिएका अस्गर अलीलाई कम्पनीले विशेष धन्यवाद दिएको। उनी पछिल्लो समय इसेवाको बोर्ड अध्यक्षका रुपमा रहेका थिए। बोर्ड अध्यक्षबाट उनले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ। 

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल–कलेजको शुल्कलगायतका सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा पठाउन सकिन्छ। 

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रुपमा खाता खोल्नेको संख्या ६० लाख बढी रहेको  छ। हाल इसेवाका देशभर करिब १ लाख ५० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्।