काठमाण्डौ । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जगदीश खड्का नियुक्त भएका छन्। 

चाटर्ड एकाउन्टेन्ट  खड्कालाई इसेवाको सञ्चालनक समितिले सीईओका रुपमा नियुक्त गरेको हो। नवनियुक्त सीईओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनीयताको सपथ खुवाएका छन्। सीईओ खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेका छन्। 

खड्कासँग बिजनेस अपरेसन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एन्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङमा १२ वर्षभन्दा धेरै समयको अनुभव छ। उनी यसअघि एफवानसफ्ट गु्रपअन्तर्गतको फोनपे पेमेन्ट सर्भिसमा डाइरेक्टरका रुपमा समेत आबद्ध थिए। 

कार्यभार सम्हाल्दै नवनियुक्त सीईओ खड्काले भने, ‘डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडि बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ।  डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको इसेवामा आबद्ध हुन पाउँदा म निकै नै खुसी छ। मैले इसेवाका सेवालाई अझ विस्तार गरी आममानिसको दैनिक जनजीवन सहज बनाउनका लागि भूमिका खेल्नेछु र कम्पनीलाई अझ सशक्त बनाउँदै अगाडि बढ्नेछु।’

इसेवा सञ्चालक समितिले यसअघि सीईओको भूमिकामा रहेर इसेवालाई आजको दिनसम्म ल्याइपुर्याउन सफल भएका सुभास सापकोटालाई विशेष धन्यवाद दिएको छ। उनी सीईओका रुपमा बाहिर रहे पनि कम्पनीको बोर्ड सदस्यमा भने रहनेछन्। 

सीईओबाट सापकोटको राजीनामा कम्पनी सञ्चालक समितिले स्वीकृत गरिसकेको छ। 

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज र बसको टिकट, स्कुल–कलेजको शुल्कलगायतका सेवाहरुको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा पठाउन सकिन्छ। 

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रुपमा खाता खोल्नेको संख्या ६५ लाख बढी रहेको छ। यसैगरी अप्रत्यक्ष रुपमा करिब १ करोड ७० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। 

हाल इसेवाका देशभर करिब १ लाख ५० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्।