काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ औँ वर्षमा प्रवेश गरेको छ। 

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले यो अवधिमा नगदरहित अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएको छ। 

१३ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रुपमा खाता खोल्नेको संख्या ५० लाख नाघेको छ। यसैगरी अप्रत्यक्ष रुपमा करिब १ करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। 

हाल इसेवाका देशभर करिब १ लाख ३० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हालसम्म इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब ५० लाख पुगिसकेका छन्। इसेवामा हाल मर्चेन्टको संख्या २ लाख बढी रहेका छन्। 

१३ औँ वार्षिकोत्सवका अवसरमा प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘१४ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हामी हाम्रा समस्त ग्राहक, एजेन्ट, मर्चेन्ट, सहयात्री बैंक तथा वित्तीय संस्था, नियामक निकाय र सम्पूर्ण सरोकारवाला निकायमा आभार प्रकट गर्दछौँ। कोभिड १९ महामारीको अहिलेको समयमा धेरै भन्दा धेरै डिजिटल भुक्तानी सेवा प्रदान गरि आम नेपालीको दैनिक जनजीवन सहज बनाउने हाम्रो अभियान अझ बढी सशक्त रुपमा अगाडि बढाउन हामी प्रतिबद्ध छौँ।’

इसेवाले नेपालका सुविधासम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यममार्फत धेरै सहजता ल्याएको छ। १३ वर्षे यात्रामा आममानिसलाई जुनसुकै सेवाका लागि लाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झने अवस्थामा ल्याई पुर्याएको छ। आगामी दिनमा इसेवाले बैंक तथा वित्तीय संस्थाहरुको सहकार्यमा वित्तीय पहुँच वृद्धि गरी प्रत्येक नेपाली नागरिकलाई नवीनतम प्रविधि र सेवाहरु प्रदान गर्ने योजना बनाएको छ। 

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरुको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।