काठमाण्डौ । इस्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ। 

कम्पनीले गत असोज २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओ निष्कासन बन्द छिटोमा आज कात्तिक १ गते हुने भनिएको थियो। तर, आज सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सार्वजनिक बिदा दिएकोले यो आईपीओमा आवेदन दिने म्याद कात्तिक २ गतेसम्म थप गरिएको धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।  

कम्पनीले १०० अंकित दरका कुल ६ लाख ७० हजार ३१० कित्ता आईपीओ बिक्री खुला गरेको छ। जसमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्ता पनि समावेश गरिएको छ। 

कुल कित्तामध्ये ५ प्रतिशतले हुने आउने ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। 

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्। 

यो आईपीओमा हिजो (असोज ३१ गते) साँझसम्म १० लाख २८ हजार ५३ आवेदकबाट कुल १ करोड १६ लाख ६८ हजार ८९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १८.७२ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ६२ हजार ३३८ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ९ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।