काठमाण्डौ । इस्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म २५ गुणाभन्दा बढीले ओभरसब्सक्राइब्ड भएको छ। 

कम्पनीले गत असोज २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज कात्तिक २ गतेसम्म बैंकिङ समयसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। 

कम्पनीले १०० अंकित दरका कुल ६ लाख ७० हजार ३१० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। जसमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्ता पनि समावेश गरिएको थियो। 

कुल कित्तामध्ये ५ प्रतिशतले हुने आउने ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ६ लाख २३ हजार २८९ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका छन्। 

यो आईपीओमा आज साँझ ५ बजेसम्म १३ लाख ९४ हजार ३२६ आवेदकबाट कुल १ करोड ५७ लाख १८ हजार ४७० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा २५.२१ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ६२ हजार ३३८ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ९ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। 

यो आईपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।