काठमाण्डौ । ईङवा हाइड्रोपावर लिमिटेडको आईपीओ बुधबार (वैशाख २७ गते) हुने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा आईपीओ बाँडफाँड कार्यक्रम राखिएको छ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ। 

ईङवा हाइड्रोपावरले गत वैशाख १३ गतेदेखि वैशाख १७ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। 

नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँबराबरको १८ लाख कित्ता आईपीओ बिक्री गर्ने अनुमति दिएको थियो। त्यसमध्ये कम्पनीले जारी पुँजी १० प्रतिशतले हुन आउने ६ लाख कित्ता आयोजना प्रभावितलाई निष्कासन गरी बाँडफाँड गरिसकेको छ। त्यसमा ३ लाख ६ हजार ८४० कित्तामात्रै बिक्री भएको थियो। 

कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो। कम्पनीले कुल १२ लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख २० हजार कित्ता विदेशमा रहेका श्रमिकलाई बिक्री खुला गरिसकेको छ। 

बाँकी रहेको १० लाख ८० हजार कित्ता र स्थानीयलाई बिक्री हुन बाँकी २ लाख ९३ हजार १६० थपेर कुल १३ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। त्यसमा २ प्रतिशतले हुन आउने २९ हजार ८६३ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। 

सीडीएससीका अनुसार यो आईपीओमा अन्तिम दिन साँझसम्म १२ लाख ५९ हजार ९०१ आवेदकबाट कुल १ करोड ३७ लाख ८० हजार ८०० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १०.८६ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदक परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने छ। जसमा भाग्यमानी १ लाख २६ हजार ८६३ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै आवेदकमध्ये ९ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

यो आईपीओमा ११ लाख बढी आवेदकको हात खाली हुने देखिन्छ।