काठमाण्डौ । ईङवा हाइड्रोपावर लिमिटेडको आईपीओ आज बुधबार (वैशाख २७ गते) गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थियो। 

ईङवा हाइड्रोपावरले गत वैशाख १३ गतेदेखि वैशाख १७ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। 

नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँबराबरको १८ लाख कित्ता आईपीओ बिक्री गर्ने अनुमति दिएको थियो। त्यसमध्ये कम्पनीले जारी पुँजी १० प्रतिशतले हुन आउने ६ लाख कित्ता आयोजना प्रभावितलाई निष्कासन गरी बाँडफाँड गरिसकेको छ। त्यसमा ३ लाख ६ हजार ८४० कित्तामात्रै बिक्री भएको थियो। 

कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो। कम्पनीले कुल १२ लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख २० हजार कित्ता विदेशमा रहेका श्रमिकलाई बिक्री खुला गरिसकेको छ। 

बाँकी रहेको १० लाख ८० हजार कित्ता र स्थानीयलाई बिक्री हुन बाँकी २ लाख ९३ हजार १६० थपेर कुल १३ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। त्यसमा २ प्रतिशतले हुन आउने २९ हजार ८६३ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। 

यो १२ लाख ३ हजार ९९५ आवेदकबाट कुल १ करोड २८ लाख ९५ हजार ४९० कित्ता सेयर माग भएको थियो। तीमध्ये ११ लाख ९९ हजार ९६७ आवेदकबाट परेको १ करोड २८ लाख ४३ हजार २३० कित्तामात्रै सदर भएको छ भने ४ हजार २८ आवेदकबाट परेको ५२ हजार २६० कित्ता बदर भएको छ। 

मागभन्दा बढी आवेदक परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी १ लाख २६ हजार ८६३ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै आवेदकमध्ये ९ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। 

यो आईपीओमा १० लाख ७३ हजार १०४ आवेदकको हात खाली भएको छ। यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा आईपीओ निष्कासन गर्ने कम्पनी र बिक्री प्रबन्धकको वेबसाइटमा तथा सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।