काठमाण्डौ । भुक्तानी सेवा प्रदायक ई-सेवा मनि ट्रान्स्फर र साइप्रसको जीएस क्यासलाइन बीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

सम्झौता पत्रमा ई-सेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोईराला र जीएस क्यासलाइनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत स्ट्याव्रोज स्ट्याव्रोले हस्ताक्षर  गरेका छन् । 

यो सम्झौतासँगै  साइप्रसमा  बसोबास तथा काम गर्दै आएका नेपालीहरुले जीएस क्यासलाइनको ४० वटा शाखाहरुबाट नेपालमा ईसेवा मनि ट्रान्स्फर मार्फत् रेमिट्यान्स पठाउन सक्ने कम्पनीले बताएको छ ।
साथै जीएस क्यासलाइनबाट पठाएको रेमिट्यान्स ई-सेवा मनि ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तीय संस्थाहरु तथा ई- सेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्ट र ७५ लाख प्रयोगकर्ताहरूले वालेटबाट सहजै प्राप्त गर्न सक्नेछन् ।    

ई- सेवा मनि ट्रान्स्फर र जीएस क्यासलाइन बीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको बताइएको छ । 

सम्झौतामा हस्ताक्षरपछि ई-सेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत कोईरालाले जीएस क्यासलाइनको रेमिट्यान्स भुक्तानी सम्झौताबाट निकै उत्साहित भएको बताए । 

यसैगरी, जीएस क्यासलाइनका प्रमुख कार्यकारी अधिकृत स्ट्याव्रोज स्ट्याव्रोले यस सम्झौताले जीएस क्यासलाइनमार्फत् सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहज हुने र आगामी दिनहरूमा हामी साइप्रसमा बस्ने नेपालीहरूलाई उत्कृष्ट सेवाहरू प्रदान गर्न तत्पर रहेको बताए ।