चितवन । किसानले अन्डाको मूल्य पाउन थालेका छन्। कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ। लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अन्डाको मूल्य बढ्न थालेको हो।

बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर बजार मूल्य ठूलो अन्डा ३० गोटा (एक क्रेट) को रु. ४०० सय, मिडियम अन्डा रु. ३८० र एक्सट्रा लार्ज (अझ ठूलो)को रु. ४१० कायम गरिएको छ। अन्डाको मूल्य घट्दै गएर किसान बिस्थापित हुन थालेपछि देशभरका ठूला व्यवसायी संगठित भएर नेपाल लेयर्स कुखुरापालक संघ गठन गरी बजारीकरणमा जुटेका छन्।

संघका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट रु. ४३५ पर्न आउँछ। अन्डाको मूल्य घट्दै गएर रु. ४४० सम्म झरेको थियो। उनले भने, ‘५ वर्षअघि दानाको मूल्य प्रतिकिलो रु. ३० हुँदा अन्डा प्रतिक्रेट रु. ३०० मा बिक्री हुन्थ्यो। अहिले दाना प्रतिकिलो रु. ६५ पर्दा अन्डाको मूल्य लागत मूल्यको तुलनामा बढ्न सकेको छैन।’

औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको पोख्रेलको भनाइ छ। दुई वर्षअघि अन्डाको मूल्य प्रतिक्रेट रु. ४०५ पुगेर एकोहोरो ओरालो लागेको थियो। त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा रु. १६ रहेको थियो। अन्डा उत्पादन गर्ने कृषक एवं व्यवसायी संगठित भएर व्यवसाय बचाउन बजारी करणमा जुटेकै कारण मूल्य पाउन थालिएको उनको भनाइ छ। 

विगतको तुलनामा उत्पादन घटेको छ। लागत मूल्य नपाएपछि धेरै कृषक विस्थापित भएका छन्। ऋण थप्न सक्ने कृषकमात्र टिकेका हुन्। यससँगै गर्मीका कारण पनि अन्डा उत्पादन घटेको छ। विगतको तुलनामा अन्डा २५ प्रतिशतभन्दा बढी उत्पादन घटेको छ। बढेको समयमा दैनिक ५० लाखसम्म अन्डा पुगेको अनुमान गरिएको थियो।

संघका सचिव मदन पोख्रेलले लागत मूल्य नपाएकै कारण धेरै किसान विस्थापित भएको बताए। अन्डाको महत्व बुझाउन सकेमा अन्डाको माग दोब्बर हुने उनी बताउँछन्। बजारमा अहिले पाइने खाद्यान्नमा पोषणको हिसाबले सबैभन्दा सस्तो अन्डा भएको पोख्रेलको भनाइ छ। 

सरकारले ध्यान नदिए आत्मनिर्भर पोल्ट्री व्यवसाय धरासायी हुने व्यवसायी बताउँछन्। निजी क्षेत्रको अन्डा उत्पादनका लागि मात्र पोल्ट्री व्यवसायमा रु एक खर्बभन्दा बढी लगानी रहेको छ। यसको आधाभन्दा बढी बैंकको ऋण रहेको छ। अन्डा उत्पादक कृषक र व्यवसायीले काठमाडौँमा आउटलेटसमेत खोलेर बजारीकरण गरिरहेका छन्। 

अध्यक्ष पोख्रेलले विगत ६ महिनामा देशका अधिकांश जिल्ला पुगेर अन्डाको महत्व र बजारीकरणमा लागेकै कारण मूल्यमा सुधार भएको बताए। किसानको लागतअनुसारको मूल्य पाउन अझै नसकिएको उनी बताउँछन्। 

- RSS