काठमाण्डौ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानहरुलाई गत आर्थिक वर्षको उखु उत्पादन प्रबर्द्धनवापतको अनुदान रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ । 

शुक्रबार उक्त समितिले उखु खेतीको लागि सरकारबाट उखु किसानहरूलाई उपलब्ध गराउनु पर्ने गत आव २०७९/८० को उखु उत्पादन प्रबर्द्धन खर्च हालसम्म उपलब्ध नगराइएको भन्दै उक्त रकम तत्काल भुक्तानीको व्यवस्था मिलाउन अर्थ मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

यसैगरी सो समितिले गत आर्थिक वर्षमा उत्पादन भएको उखुको विवरणका आधारमा यस आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन भएको अनुदान रकमसमेत सम्पूर्ण उखु किसानहरुलाई उपलब्ध गराउन पुग्नेगरीे रकमको सुनिश्चितता गर्न पनि अर्थ मन्त्रालयलाई निर्देशन दिएको  छ ।

साथै सो समितिले  चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमितिको कार्यावधि २०८० साल पुष मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

नजिकिंदै गएको चाडपर्वलाई लक्षित गरि बजारमा हुन सक्ने मूल्य बृद्धि, कालोबजारी जस्ता विषयमा बजार अनुगमनको कार्यलाई प्रभावकारी रुपमा गर्न र अनुगमनको प्रतिवेदन उपलब्ध गराउन पनि समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने दिएको छ ।

 

ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धमा आवश्यक पर्ने विधेयक चालु अधिवेशनमा संघीय संसदमा दर्ता गर्न पनि समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।