काठमाण्डौ । अर्थमन्त्रीले गठन गरेको उच्चस्तरीय अध्ययन समितिको बैठकमा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले मुद्रा बजारको समस्या समाधानको उपाय तत्काल ननिकालिए बैंकहरुले एकदुई दिनमै पुनः ब्याजदर बढाउनुपर्ने बाध्यता आउनसक्ने चेतावनी दिएका छन् । 

नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको समितिको आइतबार बिहान केन्द्रीय बैंकमा भएको बैठकमा उनले त्यस्तो चेतावनी दिएका हुन् ।

‘ब्याज बढाएर १३ प्रतिशतसम्म पुर्याउने बैंकका कारण संयम अपनाउने अन्य बैंकलाई समेत आफ्नो निक्षेप जोगाउने सकस भइरहेको भन्दै उहाँले अवस्था यथावत रहे एकदुई दिनमै ब्याज वृद्धिको दौड सुरु हुनसक्ने भन्नुभयो ।’ बैठकमा सहभागी लगानीकर्ताका एक प्रतिनिधिले बिजशालासँग भने–‘उहाँले स्पष्ट रुपमा बैंकको ब्याजदर अझै बढ्ने संकेत गर्नुभएको छ । उहाँले राखेको कुराप्रति नेपाल राष्टबैंक र अर्थका अधिकारी गम्भीर देखिए ।’ 

बैठकमा अर्थमन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, बैंकर्स संघबाट ढुंगाना, लगानीकर्ताहरुको तर्फबाट अम्बिका पौडेल, राधा पोखरेल लगायतको सहभागिता थियो । 

अम्बिका पौडेल आइतबारको बैठकमा समेत सहभागी भइसकेकोले मंगलबारको बैठकमा राधा पोखरेललाई केही बढी बोल्ने समय दिइएको थियो । उनले लगानीकर्ताका समस्याको बिषयमा बेलीबिस्तार लगाएकी थिइन् । 

नेपाल राष्ट्रबैंकको बैठकपछि अहिले पुनः सरोकारवालाहरुको अर्को बैठक सुरु भएको छ । यो बैठकमा धितोपत्र बोर्ड, लगानीकर्ताका प्रतिनिधि, बैंकर्स संघ तथा मर्चेन्ट बैंकर्स संघका प्रतिनिधि, स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधि लगायतको सहभागिता छ । 

लगानीकर्ताको प्रतिनिधिसहितको बाक्ला बैठक हुन थाले पनि नेपाल स्टक एक्सचेञ्जको मूलगेटमा रिले अनसनमा बसिरहेको समूहले भने आफूहरुलाई बाइपास गरेर भइरहेको बैठकप्रति आपत्ति जनाएको छ । दवाब समूहले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी अर्थमन्त्रीबाट गठित समितिमा प्रतिनिधित्व गर्ने लगानीकर्ताका नेता बिचौलिया भएकोसम्म आरोप लगाएको छ । 

सम्बद्ध निकायका प्रतिनिधि एकपछि अर्को बैठकमा व्यस्त भइरहेको बेला लगानीकर्ताको रिले अनसनमा समर्थन जुट्ने क्रम पनि बढेको छ । आजै मात्र रिले अनसनप्रति नेपाली कांग्रेसले समर्थन जनाएको छ । राजपा लगायतका नेताहरु समेत अनसनस्थलमा पुगी ऐक्यबद्धता जनाएका छन् । 

*यसअघिको समाचारमा सेयर लगानीकर्ता संघका उत्तम अर्यालको नाम असावधानीले पर्न गएकोमा सच्याइएको छ । 
-सम्पादक