– मनिष सोती

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा भर्खरै छिरेका लगानीकर्तामा कुन कम्पनीको सेयरमा लगानी गर्ने भन्ने जिज्ञासा हुन सक्छ। सेयर लगानी गर्नुअघि कम्पनीहरुको वित्तीय विवरण बुझ्नु अपरिहार्य हुन्छ। 

सेयर लगानी गर्नुअघि कम्पनीको महत्वपूर्ण वित्तीय सूचकका आधारमा र कम्पनीको जोखिमांकन मूल्यांकन तथा कम्पनीले दिँदै आइरहेको लाभांशका आधारमा कम्पनी छान्नु उपयुक्त मानिन्छ। कम्पनीहरुको प्रमुख वित्तीय सूचकका आधारमा मात्रै सेयरमा लगानी गर्ने, पर्खने वा झिक्ने भन्नेबारे निर्णय गर्न सकिन्छ। सेयर विज्ञहरुका अनुसार कम्पनीको वित्तीय विवरण राम्ररी बुझेरमात्रै लगानी गर्नु उपयुक्त हुन्छ। 

कम्पनीले कति लाभांश दिन सक्छ ? कम्पनीमा के–कस्ता जोखिम बढेका छन् ? कम्पनीको बजार भाउ कतातिर जाँदैछ ? यावतका विषयमा बुझ्न आवश्यक छ। केही समययता बीमा कम्पनीहरुको सेयरमा पनि लगानीकर्ताको आकर्षण बढिरहेको छ। 

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पुँजी वृद्धिका लागि बोनस वा हकप्रद जारी गर्न दिने निर्णयले पनि बीमा कम्पनीको सेयरप्रति लगानीकर्ताको आकर्षण बढ्दो छ। 

यसैबीच उच्च सेयरभाउ रहेका शिखर, नेको, सगरमाथा लुम्बिनी (सलिको), एनएलजी र सिद्धार्थ प्रिमियर गरी ५ निर्जीवन बीमा कम्पनीको हामीले तुलनात्मक अध्ययन गर्न प्रयास गरेका छौँ। तीमध्ये लगानीकर्ताले कुन कम्पनीको सेयर किन्दा बढी फाइदा हुन सक्छ, भन्ने हामीले तुलनात्मक प्रक्षेपित अध्ययन गरेका छौँ। 

दोस्रो बजारमा राष्ट्रिय बीमा कम्पनीको सेयरभाउ १५ हजार रुपैयाँभन्दा माथि छ। यो कम्पनीको नेप्सेमा जम्मा २६ लाख ६६ हजार कित्ता सेयरमात्रै सूचीकृत छ। सेयरभाउ पनि महँगो भएका कारण यो कम्पनीको सेयर बजारमा खासै कारोबार भएको देखिँदैन। 

यसका साथै यो कम्पनीले केही वर्षयता साधारणसभा नगरी सेयरधनीलाई समेत लाभांश बाँडेको छैन। यसकारण हामीले राष्ट्रिय बीमा कम्पनीको सेयरभाउ उच्च रहे पनि उक्त कम्पनीबाहेक ५ निर्जीवन बीमा कम्पनीको मात्रै तुलनात्मक अध्ययन गरेका हौँ। 

ईपीएसका आधारमा 

सेयरमा लगानी गर्नेका लागि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) महत्वपूर्ण सूचक मानिन्छ। लगानी गर्नुअघि कम्पीको ईपीएस कति छ ? बुझ्नु आवश्यक हुन्छ। कम्पनीको खुद नाफा र कुल जारी साधारण सेयरको अनुपात नै ईपीएस हो। लगानीकर्ताले ईपीएसकै आधारमा कम्पनीले दिन सक्ने लाभांशसमेत अनुमान लगाउन सक्छन्।  

यसका साथै दोस्रो बजारमा धेरै ईपीएस भएको कम्पनीले धेरै लाभांश दिन सक्ने क्षमतालाई समेत जनाउँदछ। गत आर्थिक वर्षको रिपोर्टअनुसार सबैभन्दा बढी ईपीएस सगरमाथा लुम्बिनी इन्स्योरेन्सको छ। यो कम्पनीको ईपीएस २९.३६ रुपैयाँ रहेको छ। 

त्यस्तै नेको इन्स्योरेन्सको २७.४५ रुपैयाँ, सिद्धार्थ प्रिमियरको १८.८४ रुपैयाँ, एनएलजीको १६.५२ रुपैयाँ र शिखर इन्स्योरेन्सको १५.१९ रुपैयाँ रहेको छ।

नेटवर्थका आधारमा 

प्रतिसेयर नेटवर्थ पनि सेयरमा लगानी गर्नका लागि जान्नैपर्ने महत्वपूर्ण सूचक हो। नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन भन्ने मूल्यांकन गर्न सकिन्छ। नेटवर्थको वृद्धिदरले कम्पनीको विभिन्न दायित्व जोखिम घटिरहेको छ भन्ने देखाउँछ। यो सूचक नकारात्मक भएमा कम्पनीको अवस्था खराब रहेको बुझ्न सकिन्छ। 

गत आर्थिक वर्षको रिपोर्टअनुसार सबैभन्दा धेरै नेटवर्थ सलिकोको रहेको छ। कम्पनीको नेटवर्थ २२८.९२ रुपैयाँ रहेको छ। 

त्यस्तै सिद्धार्थ प्रिमियरको २२५.९१ रुपैयाँ, नेकोको २१०.७५ रुपैयाँ, एनएलजीको २०९.५ रुपैयाँ र शिखरको १८५ रुपैयाँ ८५ पैसा रहेको छ। 

पीई रेसियोका आधारमा 

दोस्रो बजारमा छिरेका लगानीकर्ताका लागि सेयरमा लगानी गर्नुअघि कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) सूचक पनि महत्वपूर्ण मानिन्छ। कम्पनीले  कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैैयाँ तिरिरहेका छन् भन्ने यो सूचकले देखाउँछ। यसको हिसाब गर्दा सेयर बजारमा कारोबार हुँदा कायम भएको पछिल्लो मूल्यलाई लिइन्छ। 

यो मूल्यलाई ईपीएसले भाग गरेर निकालिन्छ। कम्पनीको पीई रेसियो १८ देखि २५ गुणा हाराहारीमा भएको राम्रो मानिन्छ। जति बढी पीई रेसियो उति नै बढी जोखिम हुन सक्ने सेयर विज्ञहरु बताउँछन्। 

सबैभन्दा बढी पीई रेसियो शिखरको ५५.६४ गुणा रहेको छ। २५ भन्दा बढी गुणा पीई रेसियो हुन जाँदा जोखिम पनि उत्तिकै बढ्ने संकेत हुन्छ। 

दोस्रोमा एनएलजीको ५०.८५ गुणा रहेको छ। त्यस्तै सिद्धार्थ प्रिमियरको ४१.३१ गुणा, नेको इन्स्योरेन्सको ३२.४२ गुणा र सलिकोको २५.४८ गुणा रहेको छ। 

प्रतिसेयर कुल सम्पत्तिको मूल्यका आधारमा 

बीमा कम्पनीहरुले वित्तीय रिपोर्टमा प्रतिसेयर कुल सम्पत्तिको मूल्य सूचक पनि छुट्याएको हुन्छ। लगानीकर्ताका लागि सेयर खरिदमा यो पनि एउटा प्रमुख सूचक मान्न सकिन्छ। कम्पनीको प्रतिसेयर कुल सम्पत्ति के–कति रहेको छ ? त्यसैका आधारमा जोखिमांकन मापन गर्न सकिन्छ।

सबैभन्दा बढी यस्तो मूल्य सलिकोको रहेको छ। कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३८४.७५ रुपैयाँ रहेको छ। त्यस्तै नेकोको ३८४.१४ रुपैयाँ, सिद्धार्थ प्रिमियरको ३७५.२८ रुपैयाँ, एनएलजीको २८५.७३ रुपैयाँ र शिखरको २६१.३८ रुपैयाँ रहेको छ। 

खुद नाफाका आधारमा 

खुद नाफा पनि लगानीका लागि महत्वपूर्ण सूचक हो। सेयरमा लगानी गर्नुअघि कम्पनीले वर्षेनी कति मुनाफा आर्जन गर्यो त्यो बुझ्नु आवश्यक हुन्छ। यदि कम्पनीहरु घाटामा छन् भने कम्पनीको जोखिम उत्तिकै सिर्जना हुने सम्भावना रहन्छ। साथै, कम्पनीहरुले वर्षैपिच्छे दिने लाभांशसमेत खुद नाफाकै आधारमा आश्रित हुन्छ। 

लगानीकर्ताले कुनै कम्पनीमा लगानी गर्नुअघि कम्पनीले कति नाफा कमाएको छ, त्यो बुझ्नु आवश्यक हुन्छ। गत आर्थिक वर्षको अन्त्यसम्म सबैभन्दा बढी मुनाफा कमाउनेमा नेको इन्स्योरेन्स रहेको छ। नेकोले आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्म ५५ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

त्यस्तै सलिकोले ४२ करोड ४२ लाख रुपैयाँ, शिखरले ४० करोड ३१ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरले ३६ करोड ३५ लाख रुपैयाँ र एनएलजीले २४ करोड १० लाख रुपैयाँ मुनाफा कमाएका छन्। 

चुक्तापुँजीका आधारमा 

सेयरमा लगानी गर्नुअघि कम्पनीको चुक्तापुँजी (पेडअप क्यापिटल) कति छ ? त्यो बुझ्नु आवश्यक छ। सेयर बजारमा पुँजीले पनि सेयरभाउमा प्रभावित पार्ने हुन्छ। जति धेरै चुक्तापुँजी उति नै कम्पनीको सेयरभाउ घट्ने सम्भावना हुन्छ। 

कम्पनीको सेयर कित्ता संख्या धेरै हुन जाँदा त्यहाँ डिमान्डभन्दा पनि बढी सप्लाई हुन जान्छ। अर्थशास्त्रको सूत्रअनुसार जति धेरै माग बढ्छ, उति धेरै मूल्य बढ्छ। यसैका आधारमा पनि दोस्रो बजारमा कम चुक्तापुँजी भएका कम्पनीहरुको सेयरभाउ बढी हुने गरेको छ। 

गत आर्थिक वर्षको अन्त्यसम्म सिद्धार्थ प्रिमियरको चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ, शिखरको २ अर्ब ६५ करोड रुपैयाँ, सलिकोको २ अर्ब ६२ करोड रुपैयाँ, नेकोको २ अर्ब १ करोड रुपैयाँ र एनएलजीको १ अर्ब ४५ करोड रुपैयाँँ रहेको छ। 

हालको सेयरभाउ र अधिकतम मूल्य 

लगानीकर्ताले सेयरमा लगानी गर्नका लागि कम्पनीको सेयरभाउ कति छ र कतिसम्म कम्पनीको सेयरभाउ बढेको छ ? त्यो बुझ्नुपर्दछ। यदि कम्पनीको सेयरभाउ निरन्तर ओरालो लागेको छ भने कम्पनीको अन्य सूचकका कारण कम्पनीको भाउ घटिरहेको बुझ्न सकिन्छ। यदि सेयरभाउ घटबढ प्रक्रियामा अडिरहेको छ भने त्यस्तो कम्पनीको जोखिम कम हुने गर्दछ। तर, टेक्निकल पार्ट हेर्ने लगानीकर्ताले कम्पनीको एलटीपी र अधिकतम मूल्य कतिसम्म रहेको छ भनेर बुझेरमात्रै लगानी गर्दछन्। आफूले गरेको लगानीले कतिसम्म प्रफिट अर्न गर्न सक्छ, त्यो बुझेरमात्रै लगानी गर्दा उचित हुन्छ। साथै, कम्पनीको हालको सेयरभाउ र अधिकतम सेयरभाउ कति पुगेको त्यसको लेखांकन गरेरमात्रै लगानी गर्नुपर्छ। 

एलटीपीअनुसार सबैभन्दा बढी नेकोको ८५५ रुपैयाँ रहेको छ। तर, कम्पनीको अधिकतम मूल्य भने ९४६ रुपैयाँसम्म रहेको छ। 

त्यस्तै दोस्रोमा एनएलजीको एलटीपी ७९२ रुपैयाँ र अधिककम मूल्य ९४० रुपैयाँ, शिखरको हालको एलटीपी ७८२ रुपैयाँ र अधिकतम मूल्य १०१०, सिद्धार्थ प्रिमियरको एलटीपी ७४७ रुपैयाँ र अधिकतम मूल्य ८३७ रुपैयाँ र सलिकोको ७११ रुपैयाँ एलटीपी र अधिकतम मूल्य ९५७ रुपैयाँ रहेको छ। 

कुल बीमा शुल्क आर्जनका आधारमा 

बीमा कम्पनीहरुको मुख्य व्यवसाय भनेको नै प्रिमियम कलेक्सन हो। बीमाशुल्क आर्जनको आधारमा कम्पनीहरुले कलेक्सन प्रिमियम रकम विभिन्न क्षेत्रमा लगानी गरेका हुन्छन्। कम्पनीले जति धेरै प्रिमियम कलेक्सन गर्यो, उति नै धेरै लगानीको दायरा बढाउँदै जाने गर्दछ। 

लगानीकर्ताले कम्पनीहरुमा लगानी गर्नुअघि कम्पनीको मुख्य व्यवसाय के हो, व्यवसायको आकार कसरी बढाइरहेको छ र त्यसबाट सेयरधनीसमक्ष प्रतिफल कसरी आइपुग्छ ? त्यो बुझ्न जरुरी छ। बीमा कम्पनीले प्रिमियम कलेक्सन गरी उक्त रकम बैंकको मुद्दति निक्षेप, जग्गा–जमिनमा लगानी तथा बीमालेख धितो कर्जा वितरण गरी लगानी बढाइरहेका हुन्छन्। 

जति धेरै लगानी उति धेरै प्रफिट हुन सक्ने सम्भावना रहन्छ। गत आर्थिक वर्षको अन्त्यसम्म सबैभन्दा बढी नेकोले ५ अर्ब ३१ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ। 

त्यस्तै सलिकोले ३ अर्ब ४१ करोड रुपैयाँ, नेकोलेल २ अर्ब ९२ करोड रुपैयाँ, सिद्धार्थ प्रिमियरले २ अर्ब ७८ करोड रुपैयाँ र एनएलजीले २ अर्ब ४० करोड रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ। 

वितरित अधिकतम बोनसका आधारमा 

लगानीकर्ताले सेयरमा लगानी गर्नुअघि कम्पनीहरुले विगतमा दिनहरुमा कति प्रतिशतसम्म लाभांश बाँडिरहेको छ ? त्यो पनि बुझ्न आवश्यक हुन्छ। दोस्रो बजारमा विशेषतः अल्पकालीन र दीर्घकालीन गरी दुईथरिका लगानीकर्ता हुन्छन्। दीर्घकालीन लगानीकर्ताले विशेषगरी कम्पनीको लाभांश क्षमतालाई ध्यान दिएका हुन्छन्। 

कम्पनीले कतिसम्म बोनस सेयर दिन सक्छ ? त्यो अनुमान लगाएर लगानी गरेका हुन्छन्। बजारमा उच्च सेयरमूल्य रहेका ५ निर्जीवन बीमा कम्पनीमध्ये विगतमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले ६० प्रतिशतसम्म बोनस वितरण गरेको छ। 

त्यस्तै एनएलजीले २५ प्रतिशत र नेको इन्स्योरेन्सले २० प्रतिशतसम्म बोनस बाँडेका छन्। सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियर भने भर्खरै मर्जरपछि धितोपत्र अभिलेख गराई नेप्सेमा सूचीकृत छन्। साविकका कम्पनीहरु सगरमाथा इन्स्योरेन्स र लुम्बिनी इन्स्योरेन्सले पनि विगतमा सेयरधनीलाई उत्कृष्ट लाभांश बाँड्दै आएका थिए। साबिक सगरमाथाले आर्थिक वर्ष ६८–६९ मा सेयरधनीलाई सतप्रतिशत बोनस दिएको थियो। त्यसलगत्तै कम्पनीले २३ प्रतिशतसम्म बोनस वितरण गरेको छ। त्यस्तै साबिक लुम्बिनीले पनि १८ प्रतिशतसम्म बोनस बाँडेको छ। 

यता साबिक सिद्धार्थ इन्स्योरेन्सले विगतमा अधिकतम ३० प्रतिशत र साबिक प्रिमियर इन्स्योरेन्सले अधिकतम ७९.७९ प्रतिशतसम्म बोनस वितरण गरेको छ।

नोटः यो अध्ययन हामीले गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा गरेका हौँ। लगानीकर्ताले सेयरमा लगानी गनुअघि आफैँले कम्पनीको विश्लेषण गर्दा उचित हुनेछ।’