काठमाण्डौ । नेपाल उद्योग परिसंघले सर्टिफिकेट अफओरिजिन अर्थात उत्पत्तिको प्रमाणपत्र अब अनलाइन जारी हुने व्यवस्था मिलाएको छ । 

बुधबार परिसंघको कार्यालय थापाथलीमा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र परिसंघका अध्यक्ष सतिशकुमार मोरले अनलाइन व्यवस्थाको शुभारम्भ गरेका हुन् । 

सो अवसरमा वाणिज्य तथा आपूर्ति सचिव अधिकारीले अनलाइन प्रणालीले व्यापारमा हुने गैर कर अवरोधहरु कम भई थप प्रतिस्पर्धीहरुलाई सहयोग पुग्ने बताए ।

सचिव अधिकारीले व्यापारसँग जोडिएका भन्सार कार्यालयहरु, नेपाल राष्ट्र बैंक लगायतका निकायहरु एकिकृत अनलाइन प्रणालीमा आवद्ध हुन लागेकोले उत्पत्तिको प्रमाणपत्र अनलाइन जारी गर्दा समस्या नहुने र समस्या आइहाले सुधारका लागि मन्त्रालय तयार रहेको जानकारी गराए । 

सो अवसरमा व्यापार प्रर्वद्धन केन्द्रका कार्यकारी प्रमुख शरदविक्रम राणाले व्यापारमा कागजी अवरोध कम हुने भएकाले अनलाइन प्रणाली लागू गर्न व्यवसायिक क्षेत्रले सघाउनुपर्ने बताए । 

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले उत्पत्तिको प्रमाणपत्र अनलाइन जारी गर्न परिसंघले आवश्यक तयारी पूरा गरेको बताए । अध्यक्ष मोरले भारततर्फको निकासीमा पनि परिसंघले उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने व्यवस्था मिलाउन आग्रह गरे ।

निकासी व्यापारमा थप सहुलियत तथा अहिले व्यापारमा देखापरेका कानूनी झञ्झट हटाउन अध्यक्ष मोरले आग्रह गरे ।

परिसंघका उपाध्यक्ष राजेश अग्रवालले अनलाइन प्रणालीलाई व्यवस्थित गर्न र भुक्तानी सेवालाई पनि अनलाइन प्रणालीमा थप सहज गर्न आग्रह गरे । 

परिसंघले आज सफ्ट लञ्च भएको उत्पत्तिको प्रमाणपत्र अब अनलाइन व्यवस्थालाई एक महिनाभित्र पूर्ण रुपमा अनलाइन जारी हुने व्यवस्था मिलाइने बताएको छ ।