– अर्जुन तिमिल्सिना
काठमाण्डौ। सेयर बजारका लागि यो साताको पहिलो दिन नै उत्साहजनक देखियो। नेप्से परिसूचकसँगै कोरोबार रकम र कुल बजार पुँजीकरणमा नयाँ कीर्तिमान कायम भयो।
साताको पहिलो दिन आइतबार १७ अर्ब बढी र दोस्रो दिन सोमाबार झन्डै १६ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ। कारोबारको हिसाबले बजार मजबुत बन्दै गएको विश्लेषकहरु बताउँछन्।
बजारमा आज झिनो करेक्सन आयो। यसले बजार केही समय स्थिर भएर मजबुत हुँदै अगाडि बढ्ने देखिन्छ। बजारको विगतलाई हेर्दा र प्राविधिक रुपले इलिअट वेभका आधारमा भन्नुपर्दा यो प्राइमरी डिग्रीको वेभ ३ चलेको मान्न सकिन्छ। यो भनेको निकै लामो वृद्धि हुने हुनाले कतिलाई सेयर बजार धेरै बढ्यो भन्ने पनि लाग्न सक्छ। जुन स्वभाविक नै हो। बजार ११०० को विन्दुबाट पटक–पटक टेवा लिएर माथि फर्केको सबैलाई हेक्का नै छ। जुन भनेको प्रइमरी डिग्रीको वेभ २ थियो।
सेयर बजारलाई २०० को इन्डेक्सदेखि हालसम्मको यात्रालाई केलाउँदा बजार २०६४/६५ सालमा ११७५ सम्मको उच्च विन्दु बनाएको थियो। यो भनेको ५ गुणा वृद्धि हो। यसलाई आधार मान्दा प्राइमरी डिग्रीको वेभ ५ अब झन्डै ५ गुणा बढेर अबको ३ वर्षमा ५५०० को विन्दुसम्म बजारको यात्रा हुन सक्ने अनुमान लगाउन सकिन्छ। यो बीचमा बजारमा सानाठूला करेक्सन आउन सक्छन्।
इलिअट वेभका आधारमा
यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। यो वेभअनुसार बजारको अहिलेको मुभमेन्टलाई हेर्ने हो भने इन्टरमिडिएट डिग्रीअन्तर्गत (१, २, ३, ४, ५) पूरा गरी लगभग वेभ ५ पूरा भइसकेको तथा नभएको भए पनि केही कारोबारमा हुन सक्ने अनुमान लागाउन सकिन्छ। वेभ ५ को करेक्सन वेभ ‘ए’ हुने भएकोले वेभ ए, बी र सीमा बजारमा करेक्सन हुने गर्छ। आजको बजारलाई इलिअट वेभ सिद्धान्त र फिवोनासीलाई मिलाएर हेर्दा आज सेयर बजारको रेखाले फिवोनासी एक्सटेन्सनको ठ्याक्कै १.६१ प्रतिशतको वृद्धि २९०६.७ विन्दुमा बजार बन्द भएको छ। यो इलिअट वेभअन्तर्गत मिनेट डिग्रीको वेभ (iii) मान्ने हो भने अब (iv) बनाउन बजारमा सामान्य करेक्सन आउन सक्ने अनुमान गर्न सकिन्छ र बजार केही करेक्सनपछि फेरि इन्टरमिडिएट डिग्रीको वेभ (५) तथा मिनेट डिग्रीको वेभ (v) बनाउन फिवोनासी एक्सटेन्सनको २.६१ प्रतिशतको वृद्धि भई लगभग ३१८४.६८ मा बजार पुग्न सक्ने अनुमान लगाउन सकिन्छ। त्यसपछि भने बजारम एबीसी बनाएर बजारमा केही समय करेक्सनको सम्भावना आँकलन गर्न सकिन्छ। (तस्बिर माथि राखिएको छ।)
एमएसीडी लाइनका आधारमा
एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनअन्तर्गत सिग्नल बुलिस नै देखिन्छ तर हिस्टोग्रामहरु (कालो एरोले देखाएको) लामा–लामा हुँदै गएका छन्। हिस्टोग्राम लामा–लामा हुनु भनेको एमएसीडी लाइन र सिग्नल टाढा–टाढा हुँदै गएर बुलिस क्रस ओभर भइसकेको (हरियो एरोले देखाएको) भन्ने बुझिन्छ। यसले बढ्दो बजारलाई संकेत गर्छ।

बोलिंगर ब्यान्डका आधारमा
यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा, जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले अप्पर ब्यान्डलाई छोएको र आज सोमबारको कारोबारले कालो मैनबत्तीसहित माथि छोटो धागो बनेको छ। जसले घट्दो बजारलाई संकेत गर्छ। आजको कारोबारले पनि कालो छोटो मारुबुजु मैनबत्ती बनाएको छ। (चित्रमा कोठाभित्र कालो एरोले देखाएको) यसले बजारमा सामान्य करेक्सनको अनुमान लगाउन सकिन्छ। जुन इन्ट्रा डेमात्रै पनि हुन सक्छ।

आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ७२.७७ रहेको छ। जसको अर्थ हुन्छ, ओभर बट जोनमा छ र अघिल्लोपटक यो विन्दु ७३.७६ को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई ३७.८२ मा आउँदा अघिल्लोपटक बजारमा बुलिस यात्रा तय भएको थियो।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारले विगतमा बनाएका रेखाचित्रका आधारमा गरिएको भविष्यको अनुमानमात्रै हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19