गाईघाट । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उदयपुर सिमेन्ट उद्योगलाई बचाउन आगामी बजेटमा विशेष व्यवस्था गर्न लागिएको जानकारी दिएका छन्। 

उदयपुर सिमेन्ट उद्योगको ३५औँ साधारणसभा उद्घाटन गर्दै मन्त्री रिजालले उद्योगलाई राम्रोसँग चलाउन सक्ने गरी आगामी बजेटमा व्यवस्था गर्ने लागेको जानकारी दिएका हुन्। उद्योगमा सरकारले थप लगानी गर्न मन्त्रालयले एक कार्यदल गठन गरेको र सो कार्यदलको प्रतिवेदनका आधारमा लगानीको स्वरुप प्रस्ट हुने मन्त्री रिजालको भनाइ थियो। 

सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगलाई बचाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्ने भन्दै मन्त्री रिजालले त्यसका लागि सरकारले आवश्यक सबै किसिमका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उद्योगमा काम नै नगरी ओभरटाइम सेवा लिने प्रवृत्तिलाई दुरुत्साहित गर्नुपर्नेमा पनि उनले जोड दिए।

साधारणसभाकै अवसर पारेर उद्योगमा पुगेका मन्त्री रिजाललाई स्थलगत अवलोकन गराउनुका साथै उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले उद्योगको अवस्था, हाल भैरहेको क्रियाकलाप र भावी योजनाको बारेमा जानकारी गराएका थिए। 

उद्योगका लागि ३० बर्ष पुराना मिल मेसिनरी फेर्न र उत्पादन बढाइ दैनिक १६ हजार बोरा पुर्याउन रु. ५५ करोड ७५ लाख लगानी गरिदिन न्यौपानेले आग्रह गरे। हाल २० करोडमात्रै भए पनि लगानी गर्न सके पनि क्लिन सेल र बर्नर फेर्न सकेमात्रै पनि उत्पादन बढ्ने उनको भनाइ थियो। 

स्मरणीय के छ भने आजभन्दा ५–६ वर्षपहिले ५.१ मिटर क्लिन सेल फेर्दा झन्डै ७ करोड लगानी भएको थियो। अहिले २०.८ मिटर फेर्न ६ करोड ८ लाखमा भारतको ख्यातिप्राप्त कम्पनी सिम्प्लेक्सले उत्पादन गर्ने क्लिन सेलमा अमेरिकन स्टान्डर्डको फलाम प्रयोग भएको छ र निर्माणसमेत भइसकेको छ। 

महाप्रबन्धक न्यौपानेले पैसाकै अभावले यति सस्तोमा पाएको सेल फेर्न नसकेको बारे पनि मन्त्री रिजाललाई अवगत गराए।

उद्योगको सभाहल जलजलेमा सम्पन्न उक्त साधारणसभाको अध्यक्षता उद्योगका अध्यक्ष केशबकुमार बस्नेतले गरेका थिए।