काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले उद्यमीहरु निरुत्साहित हुने काम गर्न नहुने बताएका छन्। 

प्रतिनिधिसभामा आज नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा सांसद थापाले सरकारको उद्यमीहरुको समस्याबारे ध्यानाकर्षण गराएका हुन्। ‘स्वदेशी उत्पादन र उपभोग बढाउँछु भन्ने नीति बोकेको सरकारले असल नियतका साथ काम गरिरहेका उद्यमीहरुलाई निरुत्साहित हुन नदियोस्’, उनले भने, ‘आफ्नै नीतिको लाज राखोस् भन्ने कुरा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

विद्युतीय सवारीसाधन बनाइरहेको यात्रीको प्रसंग उठाउँदै थापाले भने, ‘प्रधानमन्त्रीको निर्देशनमा कार्यविधि संशोधन भयो र यात्री सवारी दर्ता पनि भयो। सरकारको तारिफ पनि भयो।’ 

अहिले आएर दर्ता प्रक्रियामा फेरि समस्या भएको थापाले अवगत गराए। ‘सरकार भन्छ भ्याटबिल तिरेको ३५ दिनभित्र दर्ता भएन भने जरिवाना लाग्छ’, उनले भने, ‘पहिले कानुन थिएन दर्ता भएन, अहिले कानुन बन्यो र दर्ता भयो तर कानुन बनाउने निकायले के भन्छ सवारी दर्ता ढिलो किन गरिस्, तैँले जरिवाना तिर्नुपर्छ।’

सरकारको यो कमजोरीको भारी उद्यमीलाई बोकाउन मिल्छ ? भन्दै थापाले प्रश्न पनि उठाए। ‘फेरि यो विषय उद्यमीसँग मात्रै सम्बन्धित छैन’,उनले भने, ‘देशमै उत्पादन भएको कुरा उपभोग गर्छु भन्ने उपभोक्तासँग पनि छ। त्यसैले बेलैमा यो विषयमा सरकारको ध्यान जाओस्।’