काठमाण्डौ । नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २०० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ। 

परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीमार्फत हिजो मंगलबार अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन्। परिसंघले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जलाई ५० थान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान र धुलिखेल अस्पताललाई २० थान सिलिन्डर हस्तान्तरण गरेको छ। 

यसैगरी परिसंघले महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई १० थान, सेती अञ्चल अस्पताल धनगढीलाई २० थान, राप्ती अञ्चल अस्पताल दाङलाई १० थान, भेरी अञ्चल अस्पताल नेपालगन्जलाई १० थान, लुम्बिनी अञ्चल अस्पताल बुटवललाई ३० थान र कोशी अञ्चल अस्पताल विराटनगरलाई २० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ।  

स्वास्थ्य मन्त्रालयमा आयोजित हस्तान्तरण कार्यक्रममा मन्त्री त्रिपाठीले विपदको समयमा सहयोगका लागि परिसंघलाई धन्यवाद दिए। उनले अहिलेको संकटको अवस्थामा सरकारलाई सहयोग गरेकोमा निजी क्षेत्रप्रति आभार व्यक्त गरे। 

परिसंघका अध्यक्ष मोरले संकटमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै निजी क्षेत्रका तर्फबाट सरकारलाई सधैँ साथ र सहयोग रहने बताए। उनले भविष्यमा समेत सरकारलाई निजी क्षेत्रका तर्फबाट यस्तै सहयोग रहने प्रतिबद्धता गरे। 

कोभिड १९ को संक्रमण बढ्दै जाँदा देशभरका अस्पतालमा उपचारका लागि अत्यावश्यक अक्सिजन ग्यास तथा सिलिन्डर अभाव भइरहेको छ। परिसंघले कोभिड संक्रमितको उपचारमा चाप व्यहोरेका अस्पतालका लागि अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो। 
कार्यक्रममा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवाल र उपाध्यक्ष सुलभ अग्रवालको पनि उपस्थिति थियो।