काठमाण्डौ । नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच छलफल भएको छ । 

अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले मंगलबार राजदूत सोङसँग भेट गरी लगानी एवम् व्यवसायिक सम्बन्ध विस्तारका विषयमा छलफल गरेका हुन् । 

परिसंघका अध्यक्ष अग्रवालले चीन विकासको महत्वपूर्ण साझेदार रहेको बताउँदै नेपाल पछि परेको पूर्वाधार क्षेत्रमा सहकार्यको आवश्यकता औंल्याएका परिसंघले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । 

उनले पूर्वाधार, प्रविधि हस्तान्तरण, सीप, पर्यटनलगायतका क्षेत्रमा चिनियाँ लगानी एवम् सहकार्यलाई उच्च प्राथमिकता दिन आग्रह गरे । विद्युतीय व्यापारका माध्यमबाट नेपाली वस्तु चिनियाँ बजारमा पुर्याउन सहयोग गर्न पनि उनको आग्रह थियो ।

अध्यक्ष अग्रवालले परिसंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीचको सहकार्यमा नेपालमा देखिने गरी काम गर्न लागेको समेत राजदूत सोङलाई जानकारी गराए । 

सो अवसरमा चिनियाँ राजदूत सोङले चीन र भारतको बीचमा भएर सानो देखिएता पनि नेपाल सानो मुलुक नभएको बताए । नेपालसँग भएको आफ्नो उर्जा र स्रोतमार्फत विकास गर्न सक्ने उल्लेख गर्दै उनले दीर्घकालिन विकास रणनीति आवश्यक रहेकोमा जोड दिए । 

उनले उर्जा क्षेत्रलाई प्राथमिकता दिदै नेपालले विद्युतीय प्रयोग बढाउनुपर्ने सुझाव दिए । त्यसले आयात प्रतिस्थापनमा सहयोग गर्ने उनको भनाई थियो । परिसंघले औद्योगिक विकासका लागि काम गर्दै आएको बताउँदै उनले नेपालको औद्योगिक विकासका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका विषयमा समेत छलफल भएको थियो । छलफलमा परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु निर्वाण चौधरी, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, पदाधिकारी सदस्यहरु छाया शर्मा, गोकुल भण्डारी, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।