– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयर बजारमा निकै संवेदनशील क्षेत्र मानिन्छ। यो बजारमा अध्ययन–अनुसन्धान गरेर प्रवेश गर्नेहरु सफल हुन्छन्। तर, हचुवाका भर र अरुले भनेकै भरमा लगानी गर्नेहरु फस्ने सम्भावना प्रबल हुन्छ। त्यसैले यो क्षेत्रमा कमाउने अवसर पनि हुन्छ भने गुमाउने सम्भावना पनि उत्तिकै हुन्छ। 

सेयर बजारमा जोखिम उत्तिकै हुन्छ। चाहे त्यो बजार बढ्दा होस् वा घट्दा। 

नेपालको सेयर बजारमा अहिले यस्तै परिदृश्य देखिएको छ। छोटो समयमै ठूलो फड्को मारेको बजार केही दिनयता लगातार घटिरहेको छ। बजार जानकारले अहिले बजार घटाइलाई सामान्य करेक्सनका रुपमा लिनुपर्ने धारणा राखिरहेका छन्। तर अहिले बजारमा लगानीकर्तामात्र होइन बजारमा मध्यस्थकर्ताको भूमिका खेल्ने ब्रोकरहरु पनि जोखिम परेका छन्। 

बजार बढेको बेलामा उधारोमा सेयर किनेका लगानीकर्ताहरुले घटेको बेला पैसा नतिर्दा ब्रोकरहरु समस्यामा परेको एसियन सेक्युरिटिजका एक अधिकारी गुनासो पोखे। ‘बजार ३००० विन्दु माथि पुग्दा धमाधम उधारोमा सेयर उठाए’, ती अधिकारीले भने, ‘अहिले बजार घटेको बेला ब्रोकरलाई पैसा तिर्नुपर्छ भनेर फोन नै उठाउँदैनन्।’

लगानीकर्ताहरुले सेयर किनेको पैसा नतिर्दा सेटलमेन्ट गर्न निकै समस्या भइरहेको ती अधिकारीले बताए। ‘यो समस्या हाम्रोमात्रै होइन सबै ब्रोकरहरुको हो’, ती अधिकारीले भने, ‘सबै ब्रोकरको गरी बजारबाट कुल ३० अर्ब रुपैयाँभन्दा बढी पैसा उठ्न बाँकी छ।’ 

ब्रोकरहरुले कमिसनको आशामा कुनै पनि ग्राहकका लागि सेयर भने नकिनेको ती अधिकारीले दाबी गरे। ‘हामीले पनि ब्याज तिर्नुपर्छ, कमिसनको आशाले मात्रै सेयर किन्ने त कुरै भएन’, उनले भने, ‘बजार घट्नको एउटा कारण ठूलो परिणाममा उधारोमा सेयर खरिद गर्नु पनि हो।’ 

लगानीकर्तालाई सुझाव दिँदै ती अधिकारीले भने, ‘मैले सेयर किनेको पैसा कसरी तिर्ने भन्ने योजना तथा व्यापार रणनीति पहिल्यै बनाउनुपर्छ।’

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली यस विषयमा सहमत देखिन्छन्। ‘अहिले बजार घट्न थालेपछि लगानीकर्तामात्रै ब्रोकरहरु पनि जोखिममा परेका छन्’, उनले भने, ‘जोखिम व्यवस्थापन गर्ने प्रविधि हुन्छ तर अहिलेको टीएमएसमा त्यो सुविधा छैन, कुन लगानीकर्ताको कति पोर्टफोलियो छ र कति घट्यो वा बढ्यो भनेर अहिलेको सिस्टमले नदेखाउने हुनाले ब्रोकरहरुलाई जोखिम विश्लेषण तथा व्यवस्थापन गर्न कठिनाइ भएको हो।’

पछिल्लो समय नयाँ लगानीकर्ता आएर कमजोर कम्पनीमा लगानी बढाउँदा जोखिम झनै बढेको मैनालीको तर्क छ। ‘अहिले २५ प्रतिशत कोल्याट्रलले ब्रोकरले धान्न अवस्था छैन’, उनले भने। 

ब्रोकरले ल्याउने भनेको आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)ले धेरै हदसम्म बजारमा देखिएको जोखिम सम्बोधन गर्न सक्ने मैनालीको दाबी छ। ‘अब नेपालको बजारमा नयाँ प्रणालीको आवश्यकता निकै खड्किएको छ’, उनले भने।