काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले यही चैत २५ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। 

संस्थाले जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। संस्थाले १०० अंकित दरका कुल २ लाख ३६ हजार २५० कित्ता आईपीओ जारी गर्नेछ। 

संस्थाले निष्कासन गर्न लागेको आईपीओको कुल कित्तामध्ये ३ हजार २८१ कित्ता (०.५ प्रतिशत) कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ। बाँकी २ लाख २१ हजार १५६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आईपीओ न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। आवेदन यही चैत २९ गतेसम्म दिन पाइनेछ। यो अवधिमा मागबमोजिम आवेदन नपरेको खण्डमा आउँदो वैशाख ९ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। 

यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट र मेरो सेयरबाट आवेदन दिन सकिनेछ।

उपकार लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। यो आईपीओलाई धितोपत्र बोर्डले गत चैत ७ गते निष्कासन अनुमति दिइएको थियो।