काठमाण्डौ । उपत्यकाको ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने बनाईने भएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी)ले ढलको पानी सफा बनाउन काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरको छ ।

ढलको पानी प्रशोधन गर्न पशुपतिको गुह्येश्वरी, भक्तपुरको सल्लाघारी, ललितपुरको बालकुमारी काड्कु र धोबीघाटमा केन्द्र सञ्चालन गरिन लागेको हो ।

अत्याधुनिक प्रविधिको प्रयोग गरी ढलको पानी नुहाउन मिल्ने गरी प्रशोधन गर्ने तयारी गरिएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए ।

उनका अनुसार प्रशोधित पानीलाई बागमतीमा पठाइनेछ । ढल प्रशोधन केन्द्रमा नेपाल सरकारको ४० प्रतिशत र एसियाली विकास बैँक (एडिबी)लगायत अन्य दातृनिकायको ६० प्रतिशत लगानी रहेको समाचार आजको नयाँ पत्रिकामा छ ।

प्रशोधन केन्द्र्रमा आधुनिक प्रविधिद्वारा कभरले ढाकिने भएकाले वरिपरिको वातावरणमा कुनै असर नपर्ने निर्देशनालयले जनाएको छ । छेउछाउमा रूख–बिरुवा रोपेर प्रशोधन केन्द्र हरियाली बनाइने ढकालले बताए ।

उपत्यकाका चार ढल प्रशोधन केन्द्रमध्ये गुह्येश्वरीको डेढ वर्षभित्र पूरा भई सञ्चालनमा आउने भएको छ । त्यसका लागि टेन्डर जारी भइसकेको छ । अरू तीन प्रशोधन केन्द्रको सबै प्रक्रिया पूरा भइसकेकाले टेन्डरको प्रक्रियामा रहेको ढकालले बताए । ‘ढल प्रशोधन केन्द्र निर्माणका लागि एक चाइनिज कम्पनीसँग छलफल भइरहेको छ, सम्झौताको अन्तिम चरणमा छौँ,’ उनले भने । आगामी ०७६ पुसभित्र तीन प्रशोधनको काम पूरा गर्ने लक्ष्य राखिएको छ ।