काठमाण्डौ । उपत्यकाका तीनवटा जिल्लामा कोरोना संक्रमण भूसको आगो झै फैलिन थालेको छ । यो क्रममा गत २४ घण्टामा मात्रै काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लामा १४९८ थप संक्रमित भेटिएका छन् । यसमध्ये काठमाण्डौ जिल्लामा मात्रै ११३२ जना संक्रमित भेटिएका छन् ।

ललितपुरमा २७० र भक्तपुरमा ९६ संक्रमित भेटिएका छन् । 

यो अवधिमा देशभर कुल ३ हजार १२२ संक्रमित फेला परेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा ९ हजार २९२ को पीसीआर र ७४६ को एन्टीजेन परीक्षण भएकोमा पीसीआरबाट ३ हजार ३२ र एन्टीजेनबाट ९० जनामा संक्रमण पुष्टि भएको हो । 

गत २४ घण्टामा देशभरबाट ४५० संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसहित आजसम्ममा कोरोनाबाट निको हुने दर ९२.५ प्रतिशत कायम भएको छ । 

आइतबारसम्म देशभर रहेका सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ रहेको छ । 

अहिले देशभर २५२ संक्रमित आइसियूमा र ६५ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।