काठमाण्डौ । निषेधाज्ञाका विषयमा निर्णय लिन काठमाण्डौ उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको आज बैठक बस्ने भएको छ। 

आज दिउँसो ४ बजेतिर काठमाण्डौ, ललितपुर र भक्तपुरका सीडीओहरुको बैठक बस्नेछ। कोरोना संक्रमित घट्दै गए पनि जोखिम भने कायमै रहेकोले केही खुकुलो पार्दै थप एक साता निषेधाज्ञा लम्ब्याउने विषयमा बैठकमा छलफल हुने बताइएको छ। 

काठमाण्डौका सीडीओ कालीप्रसाद पराजुलीले आज तीन जिल्लाका सीडीओहरुबीच निषेधाज्ञाका विषयमा अनौपचारिक छलफल हुने जानकारी दिए। ‘आज निषेधाज्ञाको मोडालिटीका विषयमा छलफल हुनेछ, कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिसँग पनि बैठक हुनेछ’, उनले बिजशालासँग भने, ‘भोलि फेरि बैठक बसेर निषेधाज्ञाका विषयमा औपचारिक निर्णय लिन्छौँ।’

यसअघि कोरोना निर्देशक समितिको बैठकले आर्थिक क्षेत्र चलायमान हुने गरी असार दोस्रो सातादेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो। जोर–बिजोर कायम हुने गरी सवारीसाधन चल्न दिने तथा सरकारी कार्यालयमा भीड कम गर्न सातामा २ दिन बिदा दिनेजस्ता विकल्प अगाडि सारेर छलफल गरिएको थियो। यिनै विषयमा केन्द्रित रहेर आजको बैठकमा अनौपचारिक छलफल हुने बताइएको छ। 

अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ। निर्माण सामग्री बिक्री गर्ने पसल अपराह्न ४ बजेपछि खुल्दै आएका छन्। थप गरिएको निषेधाज्ञाको अवधिमा भोलि (असार ७ गते) सकिँदैछ।