काठमाण्डौ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो पार्दै एक साता लम्ब्याउने तयारी भएको छ। 

उपत्यकाका ३ जिल्ला काठमाण्डौ, लतिलपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को आज अपराह्न ४ बजे बस्ने बैठकले निषेधाज्ञा केही खुकुलो बनाउँदै एक लम्ब्याउने विषयमा निर्णय लिने बताइएको छ। ‘आज हामी छलफलमा बस्दैछौँ’, भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले बिजशालासँग भने, ‘उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने कि भन्ने कुरा भइरहेको छ, यो अवधिमा के–के कुरामा थप खुकुलो पार्न सकिन्छ भनेर छलफल गरी निचोडमा पुग्नेछौँ।’

सीडीओ भट्टराईले थप गरिएको निषेधाज्ञामा स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक यातायात पनि चल्ने दिने कि भन्ने विषयमा छलफल हुने जानकारी दिए। ‘सिट क्षमताअनुसार मात्रै सार्वजनिक यातायात चल्न दिने कि भन्ने हो तर सबैको एकमत भएमात्र यो विषयमा निर्णय हुन्छ’, उनले भने।

राष्ट्रिय यातायात व्यवसायी महासंघले पनि सार्वजनिक यातायात सञ्चालनमा गर्न दिनुपर्ने माग गर्दै आएको छ। 

थप गरिने निषेधाज्ञाको अवधिमा अन्य कुरा भने पहिलेजस्तै नै यथावतै हुन सक्ने भट्टराईको भनाइ छ। यसअघिको निषेधाज्ञा अवधि असार १४ गते राति १२ बजेबाट सकिँदैछ। 

पछिल्लो निषेधाज्ञामा समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ। निजी सवारीसाधनका साथै ट्याक्सीहरु जोर–बिजोर प्रणालीमा चल्न दिइएको छ। 

सार्वजनिक सवारीसाधन, विद्यालय, मठमन्दिर र पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ। 

कोरोना संक्रमणको चेन ब्रेक गर्न गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो। पछिल्लो समय केही खुकुलो पार्दै निषेधाज्ञा अवधि थप गरिँदै आएको छ।