काठमाण्डौ । उपत्यकाका सडक अब नेपाल विद्युत् प्राधिकरणले भत्काउने भएको छ । प्रसारण लाइन भूमिगत गर्न प्राधिकरणले सडक भत्काउन लागेको हो । तर, मूल सडक नभएर पेटी मात्रै भत्काएर विद्युत् लाइन भूमिगत गरिने प्राधिकरणले जनाएको  छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार पहिलो चरणमा रत्नपार्क र महाराजगन्जआसपासका सडक भत्काइनेछ । मेलम्ची खानेपानी आयोजनाको जसरी मूल सडक नभत्काइने उनले बताए ।

-विद्युत् लाइन भूमिगत गर्ने योजनाका लागि एसियाली विकास बैंकले १५ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

-प्राधिकरणका अनुसार भूमिगत हुने प्रसारण लाइनमा जिपिएस प्रविधि जडान गरिनेछ । अप्टिकल फाइबरमार्फत प्रसारण लाइनमा रेडियो फ्रिक्वेन्सी पनि जडान गरिनेछ । त्यसले प्रसारण लाइनको अवस्थिति मात्र नभई तार ठीक भए–नभएको सूचनासमेत संकलन गर्नेछ । सँगै, ग्राहकका घरमा जोडिने सबै मिटर ‘स्मार्ट मिटर’ हुनेछन् । स्मार्ट मिटरले ग्राहकको घरमा खपत हुने विद्युत्को परिमाणसँगै महसुल तिरे–नतिरेको सूचनासमेत केन्द्रलाई दिनेछ । 

-उपत्यकामा प्राधिकरणका तीन लाख ६० हजार ग्राहक छन् । पहिलो चरणमा २५ प्रतिशत प्रसारण लाइन भूमिगत गरिनेछ । जसअनुसार ९० हजार ग्राहकका घरमा जोडिने विद्युत् लाइन भूमिगत हुनेछ । एक वर्षभित्र प्राधिकरणले यो काम सम्पन्न गर्ने योजना बनाएको छ । 

-पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’अन्तर्गत रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रबाट जोडिएका लाइन भूमिगत गरिनेछन् । यो खबर आजको नयाँपत्रिका दैनिकमा छापिएको छ ।