काठमाण्डौ । काठमाण्डौ उपत्यकामा २४ घण्टाभित्र हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमितको पहिचान भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लामा ५३ संक्रमितको पहिचान भएको हो । 

थपिएका संक्रमितमध्ये काठमाण्डौ जिल्लाका मात्रै ४८ जना रहेका छन् । यस्तै ललितपुरका ४ र भक्तपुरको एकजनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । 

यसैगरी, यो अवधिमा देशका विभिन्न क्षेत्रमा ३११ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संखया १९ हजार ६३ पुगेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो समय देशका विभिन्न क्षेत्रबाट १२१ संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १३ हजार ८७५ पुगेको छ ।