काठमाण्डौ । नेकपा प्रचण्ड–माधव समूहले आज आह्वान गरेको आमहडताल (बन्द) को उपत्यकामा भद्र अवज्ञा भएको पाइएको छ।

आज ठाउँठाउँमा नेकपा प्रचण्ड–माधव समूहले प्रदर्शन गरे पनि राजधानीका अधिकांश स्थानमा आमहडतालको अवज्ञा भएको पाइएको छ। आमहडताललाई अवज्ञा गर्दै निजी सवारीसाधनहरु स्वतःस्फुर्त रुपमा चलेका छन्। चक्रपथ तथा उपत्यकाभित्र चल्ने सर्वजनिक बस, माइक्रो, टेम्पोलगायत सवारीसाधनहरु पनि चलेका छन्। 

पुतलीसडक, नयाँबानेश्वर, गौशाला चाबहिल, मैतीदेवी, काटेश्वरलगायत स्थानमा व्यवसायीहरुले आमहडतालको अवज्ञा गर्दै व्यापारव्यवसाय सञ्चालन गरेका छन्। मुख्यचोकदेखि भित्री स्थानहरुमा निर्वाध रुपमा पसलहरु खोलिएका छन्। 

यसैबीच गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै निर्धक्क भएर गाडी र व्यवसाय चलाउन अपिल गरेको छ। आमहडतालमा अप्रिय घटना हुन दिन ठाउँठाउँ सुरक्षाकर्मी परिचालन गरिएको छ। छिटफुट घटना भए पनि बन्दको उपत्यकामा आंशिक प्रभाव परेको छ। 

उता उद्योगीव्यवसायीहरुले भने हिजै कोरोनाले शिथिल भएको अर्थतन्त्र उभो लाग्ने बेला यस्ता बन्दहडताल गर्दा नराम्रो प्रभाव पर्ने भन्दै बन्दको विकल्प रोज्न दलहरुलाई सुझाव दिएका थिए। आज माइतीघर मण्डलामा विवेकशील साझा पार्टीले बन्दविरुद्ध प्रदर्शन पनि गरेको छ। 

सरकारले संवैधानिक निकायहरुमा नियुक्त गरेको विषयलाई लिएर नेकपा प्रचण्ड–माधव समूहले आज आमहड्ताल आह्वान गरेको हो।