काठमाण्डौ । सरकारले कोरोना संक्रमणको बढ्दो लहरपछि आउनसक्ने संकट व्यवस्थापनका लागि भोलि नै काठमाण्डौ उपत्यकामा १ हजार शैयाहरु थप्ने भएको छ । 

शनिवार एक भिडियो सन्देश सार्वजनिक गर्दै सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले यस्तो जानकारी दिएका हुन् । 

उनले सरकारले कोरोना महामारीबाट जनताको ज्यान जोगाउन हरसंभव प्रयास गरिरहेको उल्लेख गर्दै भोलि नै काठमाण्डौमा १ हजार बेडहरु थप्ने निर्णय भएको बताए । 

उनले सरकारले हात उठायो भनेर बाहिर गलत प्रचार भएकोमा दुःख व्यक्त गर्दै भनेका छन्-'बाहिर प्रचार गरेजस्तो सरकारले हातखुट्टा छाडेको छैन, जिम्मेवारीका साथ कर्तव्य पालनामा अगाडि बढेको छ । विश्वमा उपलब्ध हरेक साधनस्रोत, हर संभव जोहो गरिनेछ । यसका लागि जीवनदानी औषधिहरु पनि २ ३ दिनभित्रै आपूर्ति हुनेछन् ।'

उनले कोरोनाको दोश्रो लहरबाट दक्षिणतर्फको छिमेकी भारत धेरै प्रताडित भएको र यसका कारण समेत अक्सिजन लगायतका सामाग्री आपूर्तिमा समस्या देखिएको दाबी गरेका छन् । 

'तर, आतकिंत हुने अवस्था छैन । सबै जिम्मा सरकारले लिएको छ, सरकार आफनो प्रतिबद्धता पूरा गर्न कटिबद्ध छ । सरकार यहाँको साथमा छ ।' उनले भने-'दोश्रो लहरको संक्रमण आक्रामक पनि छ । जसले गर्दा संख्या बढ्दोछ, त्यसकारण व्यवस्थापनमा कहीँ कहीँ त्रुटि भयो होला, म त्यसको नैतिक जिम्मेवारी लिन चाहन्छु ।' 

उनले सरकारका लागि अर्थतन्त्रभन्दा जनताको जीवन महत्वपूर्ण रहेको प्रष्ट पारेका छन् । 'नेपाली जनताको जीवन सबैभन्दा महत्वपूर्ण हो । जीवनलाई महत्वपूर्ण बनायौं र त्यसपछि मात्र अर्थतन्त्र हो । हरसंभव प्रयास गरिरहेका छौं, जीवन जोगाउनलाई ।'  उनले भने-'निषेधाज्ञा जारी हुँदा जनजीवन कष्टकर बनेको छ, यसको अर्को विकल्प पनि थिएन । संक्रमणको दरलाई घटाउन यसले मद्धत पुर्याउनेछ । महामारीका लागि रोकथाम सबैभन्दा महत्वपूर्ण हो, उपचार दोश्रो चिज हो । सरकारको यो प्रयासमा सहयोग गरिदिनुहुन, सुरक्षाका मापदण्ड पूरा गरिदिन म सबैमा आग्रह गर्न चाहन्छु ।'