काठमाण्डौ । काठमाण्डौ उपत्यकामा भोलि (असार १५ गते) देखि २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको हो।

आज बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठकले जारी निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि उपत्यकाभित्र २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय गरेको हो। जोर–बिजोर प्रणालीमा सार्वजनिक बस चल्न दिने निर्णय भएको भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले जानकारी दिए। 

सीडीओ भट्टराईका अनुसार बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सार्वजनिक बस चल्न दिने निर्णय भएको छ। ‘सार्वजनिक बसहरुले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ’, उनले भने, ‘बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी कायम गर्नुपर्नेजस्ता मापदण्ड तोकिएको छ।’

हाल जारी निषेधाज्ञाको अवधि आज असार १४ गते राति १२ बजेदेखि सकिँदैछ। हाल उपत्यकाभित्र निजी सवारीसाधनसमेत जोरविजोर प्रणालीमा सञ्चालन भइरहेका छन्। विभिन्न पसल तथा व्यवसाय बारअनुसार निश्चित समय अवधिसम्म मात्र सञ्चालन भइरहेका छन् ।