काठमाण्डौ । काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो पार्दै एक साता लम्बाउने तयारी गरिएको छ। यो थप गरिएको निषेधाज्ञामा भने टेम्पो र माइक्रोबस पनि सञ्चालन गर्न दिने विषयमा निर्णय हुन सक्ने बताइएको छ। 

निषेधाज्ञाका विषयमा निर्णय गर्न आज दिउँसो ३ बजे उपत्यकाका काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ। बैठकले निषेधाज्ञा खुकुलो पार्दै थप केही प्रतिबन्धहरु फुकुवा गर्ने तयारी गरिरहेको हो। 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै एक साता थप्ने विषयमा छलफल हुने जानकारी दिए। ‘यसपालि जोर–बिजोर प्रणालीमा टेम्पो र माइक्रोबस सञ्चालन गर्न दिने भन्ने अजेन्डामाथि बैठकमा छलफल हुनेछ’, उनले भने, ‘बैठकले नै यो अजेन्डामाथि छलफल गरी निर्णय लिनेछ।’ 

कोरोनाको जोखिम कम नभएकोले एक साता निषेधाज्ञा भने थप हुने प्रजिअ भट्टराईले जानकारी दिए। 

यसअघि थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार राति १२ बजेबाट सकिँदैछ। थप गरिएको यो निषेधाज्ञा खुकुलो पार्दै २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक बसलाई जोर–बिजोर प्रणालीमा सरकारको तोकेको स्वास्थ्य मापदण्ड तोकेर बिहान ६ बजेदेखि राति ७ बजेसम्म सञ्चालनको अनुमति दिइएको छ। विभिन्न खाले पसल खोल्ने समय पनि बढाइएको छ। 

कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि उपत्यकामा गत वैशाख १६ देखि निषेधाज्ञा जारी छ।