काठमाण्डौ । काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप खुकुलो पार्दै सार्वजनिक तथा निजी सवारीसाधनमा लागू गरिएको जोर–बिजोर प्रणाली हटाइएको छ। 

आज बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब सार्वजनिक तथा निजी सवारीसाधनमा लगाइएको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो। काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आगामी मंगलबार (असार २२) देखि लागू हुने गरी जारी निषेधाज्ञा आदेशमा जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । 

योसँगै अब काठमाण्डौ उपत्यकामा माइक्रोबस, टेम्पुलगायतका सवारीसाधनसमेत चल्न पाउनेछन् । यसका साथै उपत्यका छिर्नका लागि स्थानीय प्रशासनको पास अनिवार्य चाहिने र उपत्यका छोड्दा पनि रिसिभ पास अनिवार्य चाहिने प्रजिअ भट्टराईले जानकारी दिए। ‘लामो दूरीका सवारीसाधन नचल्ने गरी निषेधाज्ञा खुकुलो बनाइएको हो’, उनले भने। 

बैठकले निषेधाज्ञा अवधि भने आगामी असार ३१ गतेसम्म थप्ने निर्णय गरेको छ। यसअघि जारी निषेधाज्ञाको अवधि भोलि असार २१ गते राति १२ बजेसम्म रहेको छ। 

यसैगरी बैठकले भौतिक रुपमा परीक्षाहरु सञ्चालन गर्नसमेत अनुमति दिएको छ। बढीमा २५ जना नबढ्ने गरी भौतिक रुपमा परीक्षा सञ्चलन गर्न दिने निर्णय भएको प्रजिअ भट्टराईले जानकारी दिए।  

अब सबै किसिमका पसल ६ बजेसम्म खोल्न पाइनेछ। तर स्कुल, कलेज, ट्युसन सेन्टर लगायत भने बन्द नै हुनेछन्।