काठमाण्डौ । काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पारिने भएको छ। निषधोज्ञाको अवधि भने थप १५ दिन थप्ने तयारी पनि गरिएको छ। 

यसअघि थपिएको निषेधाज्ञाको अवधि भोलि असार ३१ गते राति १२ बजेबाट सकिँदैछ। त्यसैले निषेधाज्ञाका विषयमा निर्णय गर्न भोलि बिहीबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्ने भएको छ। 

भोलिको बैठकले उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्ने निर्णयहरु गर्न सक्ने भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले जानकारी दिए। ‘अब निषेधाज्ञा कडा हुँदैन, थप सहज गरिनेछ’, उनले भने, ‘कोरोना संक्रमणको जोखिम घटिनसकेकोले निषेधाज्ञाको अवधि थप १५ दिन लम्ब्याउने विषयमा सहमति हुन सक्छ।’

साउनबाट लामो दूरीको यातायात पनि खुल्ने विषयमा छलफल भइरहेको सीडीओ भट्टराईले जानकारी दिए। ‘बैठकमा थप छलफल गरी लामो दूरीको यातायात खोल्ने विषयमा निर्णय हुन सक्छ’, उनले भने।

यसअघि थप गरिएको निषेधाज्ञामा उपत्यकाभित्र जोर–बिजोर प्रणाली हटाउँदै सबै प्रकारका यातायातका साधन खुला गरिएको छ।