काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको लगानीले ऊर्जा क्षेत्र आकर्षक बनाएको बताउँदै ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरु तत्काल हटाउनुपर्ने बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को २१औँ वार्षिक साधारणसभालाई बिहीबार काठमाण्डौमा सम्बोधन गर्दै अध्यक्ष ढकालले अहिले कुल जडित क्षमताको दुई तिहाइभन्दा बढी उत्पादन निजी क्षेत्रले गरिरहेको र निजी क्षेत्रको उल्लेखनीय प्रवेशले ऊर्जा क्षेत्रलाई आकर्षक बनाएको बताए। ‘तर, कतिपय अवस्थामा प्रसारण लाइन तथा अन्य समस्याका कारण निजी क्षेत्रद्वारा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकिएको र नीतिगत अवरोधहरुका कारण उत्पादकले उत्पादित विद्युतसमेत विक्री गर्न सकेका छैनन्’, उनले भने, ‘निजी क्षेत्रको उत्साहलाई कायम राख्न नीतिगत अवरोधहरु तत्काल हटाउनुपर्छ।’
जलविद्युत विकासको कुरा दशकौँदेखि गरिआए पनि पछिल्लो दशकमा भएको प्रगति उल्लेखनीय रहेको ढकालले बताए। ‘राज्यबाट थोरै मात्र सहयोग भए पनि निजी क्षेत्र फस्टाउन सक्छ भन्ने उदाहरण जलविद्युत, सिमेन्टलगायत क्षेत्रमा देखिएको छ’, उनले भने।
अध्यक्ष ढकालले अबको केही वर्षमा ऊर्जा उत्पादनले तीव्रता पाउने विचारसमेत व्यक्त गरे। ‘अहिले नै करिब ७ हजार मेगावाट क्षमताका आयोजनाहरु निर्माणको चरणमा छ’, उनले भने, ‘विद्युत खरिद सम्झौता खुकुलो हुँदा थप लगानीकर्ता आउने सम्भावना बढेको छ।’
ऊर्जा निर्यात विदेशी मुद्रा आर्जनको माध्यम बन्न सकेको विषय अत्यन्त सुखद् रहेको उल्लेख गर्दै ढकालले भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली लिने प्रतिबद्धता जनाएको जानकारी गराए।
हालैको बिम्सटेक मिटिङका क्रममा पनि नेपालको विद्युतका बारेमा कुरा उठेको जानकारी गराउँदै ढकालले नेपाललाई दक्षिण एसियामात्र नभई दक्षिणपूर्वी एसियाको समेत ब्याट्रीका रुपमा विकास गर्ने सम्भावना रहेको बताए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19