काठमाण्डौ। राष्ट्रिय परीक्षा बोर्डले विश्व महामारी कोरोनाभाइरसका कारण रोकिएको गत वर्षको एसईईको नम्बर आन्तरिक मूल्यांकनबाट तयार पारी यही असार २० गतेभित्र पठाउन विद्यालयहरुलाई निर्देशन दिएको छ।
विद्यार्थी मूल्यांकन नजिता प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ अनुसार आन्तरिक मूल्यांकन गरी विद्यार्थीका नम्बर छिटो पठाउन बोर्डले निर्देशन दिएको हो। कार्यविधिको अनुसूची २ मा भएको समष्टिगत फाराममात्र प्रयोग गरी विद्यार्थीको अन्तिम मूल्यांकन गरी सम्बन्धित विद्यालयहरुले विवरण तयार गर्नुपर्ने हुन्छ।
विद्यार्थीलाई आन्तरिक तवरबाट मूल्यांकन गरी नम्बर दिन प्रधानाध्यापकको नेतृत्वमा विद्यालयमा तीन सदस्यीय समिति गठन गर्नुपर्छ। समितिले तयार गरेको प्रमाणित प्राप्तांक तालिका (मार्क लेजर) असार २० गतेभित्र अनिवार्य रूपमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनुपर्ने बोर्डको भनाइ छ।
विद्यालयहरूबाट प्राप्त भएको प्राप्तांक विवरण र मूल्यांकन समितिबाट प्रमाणित गरी पठाइएका प्राप्तांक, तालिका भिडाइ प्रयोगात्मक र सैद्धान्तिक अंक भरे नभरेको, पूर्णांक मिले नमिलेकोलगायत रुजु गरेर जिल्लास्थित समन्वय इकाइलाई असार ३० गतेभित्र परीक्षा नियन्त्रण कार्यालयमा पठाउनुपर्ने छ।
गत जेठ २८ गते बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारीका कारण एसइई सम्भव नरहेकोले आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो। बोर्डले साउनमा एसइईको परीक्षाफल प्रकाशित गर्नेगरी आवश्यक तयारी सुरु गरिसकिएको जनाएको छ।
शैक्षिक सत्र २०७६ मा एसइईका लागि देशभरबाट ४ लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुँदै थिए। परीक्षाका लागि १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago