– प्रकाश न्यौपाने
काठमाण्डौ । पछिल्लो समय कम्पनीहरुले धमाधम आईपीओ जारी गरिरहेका छन्। पहिलेजस्तो आईपीओमा आवेदन खासै नपरेको देखिन्छ। कुनै बेला २५ लाखसम्मले आईपीओमा आवेदन दिने गरेकोमा अहिले मुस्किलले १५ लाख आवेदन पनि पर्न गाह्रो देखिन्छ।
एकातिर आईपीओमा आवेदन दिने संख्या घटेको छ भने अर्कोतिर तिनै प्राथमिक सेयर दोस्रो बजारमा कारोबारमा आउँदा भने नयाँ र आमलगानीकर्ता झुम्मिने प्रवृत्ति बढ्दै गएको छ। यो प्रवृत्तिले त्यस्ता लगानीकर्ताको सम्पत्ति डुब्ने खतरा बढ्दै गएको जानकारहरु बताउँछन्।
पछिल्लो उदाहरणका रुपमा कालिञ्चोक दर्शनको सेयरलाई लिन सकिन्छ। यो कम्पनीको प्राथमिक सेयर दोस्रो बजारमा कारोबारमा आएदेखि २३ औँ दिनसम्म लगातार सकारात्मक सर्किट लागेर प्रतिकित्ता ९७० रुपैयाँसम्म पुगेको थियो। हिजोमात्रै यो कम्पनीको एकैदिन १ लाख ५ हजार ६३६ कित्ता कारोबार भएको थियो। हिजो बजार खुलेको केहीबेरसम्म लगातार बढेको सेयरमूल्यमा अन्तिम समयमा नकारात्मक सर्किट लागेर प्रतिकित्ता ८०३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
कारोबारमा आएको लगातार २२ औँ दिनसम्म जम्मा १५ हजार कित्ता कारोबार भएको कालिञ्चोक दर्शनको २३ औँ दिन भने १ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको देखिन्छ। आज २४ औँ दिनमा आइपुग्दा यो कम्पनीको सेयरमूल्य ७८८ रुपैयाँ कायम भएको छ। यसरी हेर्दा यो कम्पनीको सेयर उच्च स्तरमा पुगेको बेला खरिद गरेका लगानीकर्ताले २ दिनमै प्रतिकित्ता करिब २०० रुपैयाँ घाटा खाइसकेका छन्।
पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला नयाँ र साना लगानीकर्ताले चद्रागिरी हिल्ससँग तुलना गरेर कालिञ्चोक दर्शनको सेयरमा झुम्मिएका बताउँछन्। ‘नेपाल धितोपत्र बोर्डले म्युचुयल फन्डहरुलाई बजारको उतावचढावलाई ब्यालेन्समा ल्याउन भनेर प्राथमिक सेयरमा आरक्षण दिए पनि त्यसको सदुपयोग भएको देखिँदैन’, उनले भने, ‘आरक्षणको नाममा पाएको सेयर महिना दिनभित्रै आठगुणासम्म नाफा खाएर आमलगानीकर्तालाई भिडाउने काम भइरहेको छ।’
एउटाको आरक्षणले अर्काको उठीबास गराएको बास्तोला बताउँछन्। ‘कि धितोपत्र बोर्डले यो आरक्षण हटाउनुपर्यो कि त स्थानीय लगानीकर्तालाई जस्तै म्युचुअल फन्डहरुलाई पनि कम्तीमा ३ वर्षको लकिङ पिरियड तोक्नुपर्यो’, उनले भने, ‘म्युचुअल फन्डका कारण पनि अहिले आमलगानीकर्ताले ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ।’
बजार जानकार दामोदर गजुरेल कम्पनीको वास्तविक अवस्था अध्ययन नगरी खरिदकर्ताको चापलाई मात्र आधार मानेर नयाँ तथा आमलगानीकर्ताले पनि खरिद गर्ने प्रवृत्ति बढ्दै गएको बताउँछन्। ‘प्राथमिक सेयर दोस्रो बजारमा कारोबार आएपछि २७०० रुपैयाँको आसपास पुगेको बेला चन्द्रागिरी हिल्सको सेयर किनेर फसेका लगानीकर्ताले लामो समयदेखि न त लाभांश नै पाएका छन् न सेयरमूल्य नै तत्काल पहिलेको मूल्यमा पुग्ने देखिन्छ’, उनले भने, ‘ठूला खेलाडी र म्युचुअल फन्डको पासोमा नयाँ र हल्लाको भरमा दौडिने लगानीकर्ता पर्ने गरेका छन्।’
हरेक कम्पनी दोस्रो बजारमा कारोबार हुँदा लगातार सर्किट लेभलमा कारोबार हुने गरेको गजुरेल बताउँछन्। ‘अझै सेयर संख्या कम भएका कम्पनीमा संस्था जति कमजोर भए पनि बुक भ्यालुको १० औँ गुणा पुग्दासमेत सर्किट लाग्ने गर्छ’, उनले भने।
हालै दोस्रो बजारमा आएको कालिन्चोक दर्शनको कारोबारको अवस्था उस्तै रहेको गजुरेल बताउँछ। ‘बजारलाई व्यवस्थित बनाउन भनेर आरक्षणको कोटा पाएका म्युचुअल फन्ड नै फर्जी खरिदचाप देखाउँदै कम्पनीको सेयरमूल्य लगातार बढाएर लैजाने र नयाँ लगानीकर्तालाई आकर्षण गराएर उच्च मूल्यमा भिडाउने गरेका छन्’, उनले भने।
नियामक निकायले म्युचुअल फन्डलाई आरक्षणमा पाएको सेयर बिक्रीमा संख्या र समयसीमा तोक्नुपर्ने गजुरेलको भनाइ छ। ‘लगानीकर्ताले पनि आफूले लगानी गर्ने कम्पनीको अवस्थाबारे पूर्ण रुपमा अध्ययन गरेरमात्र लगानी गर्नुपर्छ’, सुझाव दिँदै गजुरेलले भने, ‘घट्दो बजारमा कारोबारमा आएका हरेक कम्पनीको सेयरमा उच्च विन्दुमा लगानी गर्ने लगानीकर्ता धेरैजसो फस्ने गरेकोले हल्लाका भरमा लगानी गर्नुहुँदैन।’
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19