काठमाण्डौ । प्रविधिले मानिसलाई दास बनाइदिएको छ । तपाईले चाहेको कुरा फोनबाटै प्राप्त गर्न निकै सहज समय छ । जसरी फोनबाट धेरै कुरा गर्न सहज छ, अन्तर्राष्ट्रिय ठगहरुले यिनै माध्यमको प्रयोग गरी आफ्नो ठगी धन्दालाई संचालन गरिरहेका छन् । केही दिनअघि नेपाल प्रहरीले नेपालका धनाढ्यहरुको बैंक खाता ह्याक गरी पैसा चोरी गर्ने उद्देश्यले परिचालित केही विदेशी नागरिकहरुलाई पक्राउ गरेपछि बैंक खातामा राखिएको पैसाको सुरक्षाको सवाल अझ संवेदनशील बन्न पुगेको छ । तपाईंलाई थाहा नहुन सक्छ यस्ता ठगहरु तपाईको फोनको सहयोगबाट बैंक खाताको पहुँचमा पुग्न सक्छन् र जिन्दगीभरिको कमाई एक झट्कामा चोरी तपाईंलाई क्षणभरमै कंगाल बनाइदिन सक्छन् । 

अन्तर्राष्ट्रिय ठगहरुको गिरोह नेपालका बैंक खातामा राखिएका पैसा चोरीको प्रयासमा रहेको खुलासापछि बिजशालाले तपाईंलाई फोन वा त्यसमार्फत बैंक खाता वा कार्डहरुबाट हुनसक्ने ठगीको बिषयमा केही जानकारी दिन आवश्यक ठानेको छ । 

फोनबाटै ठगी !
काठमाण्डौको सामाखुशी बस्ने उपेन्द्र बस्नेतलाई एउटा फोन आयो, फोन थियो एभरेष्ट बैंकको लैनचोरस्थित कार्यालयबाट । फोनमा भनियो कि एभरेष्ट बैंकले आफ्नो सफ्टवेयरमा अपग्रेडेसनको काम गरिरहेको छ, यसले बैंकको केही डाटा हराएको छ । यसका लागि तपाईंका केही व्यक्तिगत विवरणहरु आवश्यक पर्यो भनियो । फोनको कुरामा विश्वास गरी बस्नेतले आफ्नो व्यक्तिगत विवरण सरासर उपलब्ध गराए(भने) । केही समयपछि नै उनको मोवाइलमा उनको खाताबाट निकै ठूलो रकमको कारोबार भएको म्यासेज प्राप्त भयो । बस्नेतले लामो समयदेखि जम्मा गरेको रकम एक झट्कामा गुमाउनुपर्यो । करोडपति बस्नेत क्षणभरमै रोडपति बने ।  

बच्ने तरिका
यदि कसैले फोन गरेर तपाईंको व्यक्तिगत विवरण माग्यो भने जतिसक्दो चाँडो आफ्नो बैंकको शाखा वा फोन बैकिङ शाखामा सम्पर्क गर्नुहोस्, यथार्थ बुझ्ने कोशिश गर्नुहोस् । फोन बैकिङको नम्बर तपाईको डेबिट वा क्रेडिट कार्डको पछाडिपटि लेखिएको हुन्छ । तपाईंले लिनुभएको बैंक स्टेटमेन्ट, क्रेडिट कार्ड स्टेटमेन्ट वा वेबसाइटबाट समेत बैंकको फोन नम्बर तुरुन्त पत्ता लगाउन सक्नुहुन्छ । 

त्यसपछि तपाईंले एकदमै छिटो तपाईंको अनलाइन बैकिङको  पासवर्ड, एटीएम पिन, बैकिङ पिन, गोप्य प्रश्न र उत्तर आदिलाई तुरुन्तै परिवर्तन गर्न लगाउनुहोस् । त्यसपछि पत्ता लगाउनुहोस् कि तपाईंको खाताबाट कुनै गैरकानूनी लेनदेन वा कारोबार त भएको छैन ? जसले फोन गरेको थियो उसको नम्बर, उसले फोनमा भनेका कुरा बाहेक तपाईंको खाताको बिषयमा विस्तृत जानकारी वा डाटा जुटाउनुहोस्, ताकि तपाईले बैंकको विस्तृत जानकारीसहित रिपोर्ट वा सम्बन्धित निकायमा उजुरी गर्न सक्नुहोस् । 

यदि तपाईंको खाताबाट पैसा निकालिसकिएको अवस्था छ भने सकेसम्म चाँडो नजिकको प्रहरी कार्यालयमा रिपोर्ट गर्नुपर्ने हुन्छ । सो रिपोर्टमा तपाईंलाई आएको फोन सम्बन्धी विस्तृत जानकारी पनि समावेश गर्न नभूल्नुहोस् । 

नचिनको फोन, तपाईंको बर्बादी !


सावधान ! यदि तपाईंको मोवाइलमा चिन्दै नचिनेको र अनौठो नम्बरबाट मिस्ड कल आएको छ भने त्यसमा भूलेर पनि कल ब्याक नगर्नुहोस् । यसो गर्दा कल रिसिभ भइदिन्छ र तपाईंको खाताबाट रकम हराउनसक्छ । प्राय यस्ता कल उत्तरी युरोप तथा अफ्रिकन देशबाट आउनसक्छ । यस्तो कलमार्फत तपाईको अकाउण्टबाट प्रति मिनेट ५० रुपैयाँदेखि ४ सय रुपैयाँसम्म घट्न सक्छ । 

बच्ने उपाय
यस्तो ठगीबाट बच्नका लागि यस्ता नम्बरमा भूलेर पनि कल ब्याक नगर्नुहोस् । बारम्बार यस्ता अनौठा नम्बरबाट फोन वा मिस्ड कल आइरहन्छ भने यो बिषयमा सम्बन्धित मोवाइल कम्पनी  वा प्रहरीमा उजुरी दिन सक्नुहुन्छ । तर सामान्य रुपमा यस्ता मिस्ड कलहरुमा कलब्याक  नगर्दा यस्तोे कल आउन आफसे आफ बन्द हुन्छ । 

डेबिट वा क्रेडिट कार्डबाट पनि ठगी


आजको डिजिटल जमानामा जीवन जति सहज भएको छ, उति नै डेबिट र क्रेडिट कार्डका कारण समस्या बढिरहेको छ । एटीएम र अनलाइन कारोबारको क्रममा तपाईंको एटीएम सम्बन्धी जानकारी केही व्यक्तिले थाहै नपाई चोरी गर्छन् । त्यसपछि तपाईंको कार्डका विवरणहरुको आधारमा नक्कली कार्ड बनाई त्यसबाट तपाईंको खाताको पैसा चोरी दिनसक्छन् । 

बच्ने उपाय
डेबिट र क्रेडिट कार्डबाट हुनसक्ने ठगी तथा चोरीबाट बच्ने केही उपायहरु पनि छन् । आफ्नो क्रेडिट कार्डको माध्यमबाट जुन वेबसाइटमा तपाई कारोबार गरिरहनुभएको छ त्यो सुरक्षित छ कि छैन जाँच गर्नुपर्छ । 

वेबसाइट सुरक्षित छ कि छैन भनेर जान्ने सजिलो तरिका छ । जुन वेबसाइटको सुरुवात https बाट हुन्छ, त्यो सुरक्षित वेबसाइट हो भन्ने बुझ्नुपर्छ । http पछाडिको s को अर्थ हुन्छ कि त्यो वेबसाइट पूर्ण रुपमा सुरक्षित छ । 

यस बाहेक त्यही वेबसाइटमा मात्र क्रेडिट कार्डबाट कारोबार गर्नुहोस्, जुन वेबसाइटको दायाँतर्फ तालाको चिन्ह बनाइएको हुन्छ वा राखिएको हुन्छ । 

अनलाइन कारोबारका लागि दुईवटा चरण हुन्छन् । पहिला सीवीवी नम्बर कार्डको पछाडिपट्टि लेखिएको हुन्छ र दोश्रो मास्टर सेक्युर कोड वा भिजा कार्डमार्फत हुने पासवर्ड भेरिफाइडको प्रक्रिया । यदि कुनै पनि वेबसाइटले तपाईसँग भिजा भेरिफाइड पासवर्ड  वा मास्टर सेक्युर कोड सोध्दैन भने त्यस्तो वेबसाइटबाट कारोबार गर्न अगाडि नबढ्नुहोस् । 

यदि तपाईं कतै सपिङ गर्न जानुभयो वा रेष्टुराँमा खानपिन गर्न जानुभयो भने कार्डबाट बिल तिर्दा आफैं काउण्टरमा जानुहोस्, बिल तिर्नका लागि अरुलाई कार्ड थमाएर बेवास्ता नगर्नुहोस् । वेटर वा एजेन्टलाई त्यस्तो कार्ड जिम्मा दिंदा त्यहीँ धोखाधडी हुनसक्छ । यदि तपाईंलाई कार्डबाट पेमेन्ट गर्दा कुनै शंका भए सम्बन्धित बैंक वा प्रहरीलाई सम्पर्क गर्नुहोस् । 

चिठ्ठाको नाममा धोकाधडी


बालुवाटारका राकेश कार्की अफिस पुगे र आफ्नो इमेल चेक गरेपछि निकै खुशी देखिए । उनलाई केही लाख अमेरिकी डलरको चिठ्ठा परेको इमेल आएको थियो । यो खुशीमा उनले कुनै सन्देह नगरी आफ्नो बैंक खातासँग सम्बन्धित गोप्य जानकारी र आफ्नो व्यक्तिगत विवरण समेत इमेल गरिदिए । यसपछि उनको फोन म्यासेजमा निकै ठूलो कारोबार भएको म्यासेज प्राप्त भयो । तर त्यसपछि उनलाई कुनै ठूलो रकम प्राप्त भएन । उल्टो उनको अकाउण्टबाट लाखौं रुपैयाँ चोरी भयो । 

अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुका अनुसार पछिल्लो कालमा नेपालमा समेत इन्टरनेटबाट ठगीका घटना धेरै बढिरहेका छन् । घरमै बसी बसी कमाउन सकिने भन्ने खालका म्यासेज पठाएर समेत उपभोक्तालाई ठग्ने काम गरिन्छ । मीठो प्रलोभन देखाएर रकम असूल्ने गिरोहरु सक्रिय छन्, यस्तो बिषयमा समेत सर्वसाधारण चनाखो हुनुपर्ने देखिएको छ । 

यस्तो धोकाधडीबाट बच्न यस्ता नचाहिने लिंक वा इमेलमा क्लिक नगर्नुहोस् । यदि तपाईंलाई कुनै पनि प्रकारको चिठ्ठा वा योसँग सम्बन्धित मेल वा फोन आउँछ भने त्यसलाई पूरै बेवास्ता गर्नुहोस् । कुनै पनि अवस्थामा आफ्नो बैंक खातासँग सम्बन्धित विस्तृत जानकारी इमेल वा आफ्नो फोनमा नराख्नुहोस् । यदि यस्तो जरुरी हुन्छ भने आफ्नो कम्प्युटर वा ल्यापटपमा यस्ता जानकारी राख्न सक्नुहुन्छ । 

कम्प्युटर वा मोवाइलमा अनिवार्य रुपमा एन्टी भाइरस प्रोग्राम राख्नुहोस् । जति बेला फोनको प्रयोग हुँदैन, त्यसबेला फोनलाई लक गर्नुहोस् । कुनै पनि सामाजिक सञ्जालमा आफ्नो बैंक खातासँग सम्बन्धित  विस्तृत जानकारी सेयर गर्ने भूल नगर्नुहोस् । धोकाधडी भएको थाहा भएपछि चाँडो भन्दा चाँडो नजिकको प्रहरी चौकीमा रिपोर्ट गर्नुहोस् । 

ठूलो नाफाको लोभमा हुने ठगी


सहजै हुने कमाई, वा ठूलो फाइदाको लोभ देखाएर समेत तपाईंमाथि ठगी हुनसक्छ । कतिपय ठगहरुको समूह सेयर बजारमा समेत सक्रिय हुन्छन् र कुनै निश्चित सेयरमा लगानी गर्दा ठूलो फाइदा हुन्छ भनेर तपाईंको लगानी फसाइदिनसक्छन । 

जानकारहरुका अनुसार यस्ता फ्रडहरुबाट बच्नका लागि आफ्नो सामान्य ज्ञानको प्रयोग गर्नुहोस् । बढी लोभमा नफस्नुहोस् । कुनै असामान्य महसुस हुन्छ भने त्यस्ता व्यक्तिसँग कुराकानी तत्काल बन्द गरिदिनुहोस् । यस्तै नक्कली फोनबाट बच्नका लागि प्रविधिको उच्चतम प्रयोग गर्न सकिन्छ । आफ्नो फोनमा कलर आइडीको फिचर उपलब्ध गराउने सफ्टवेयर राख्नसक्नुहुन्छ । कुनै पनि हालतमा वा कुनै पनि बाहानामा कसैलाई पनि आफ्नो पिन नम्बर दिने महाभूल गर्दै नगर्नुहोस् ।