काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट विश्व नै आतकिंत छ । संक्रमण फैलन नदिन नेपाल सरकारले पनि चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ ।
सरकारले पटक–पटक नागरिकहरुमा उच्च सतर्कता अपनाउन आह्वान गरिरहेको छ ।
नेपालमा लकडाउन हुनुअघि विश्वका धेरै देशले लकडाउन जारी गरिसकेका थिए । त्यहाँका सरकारले समेत नागरिकहरुलाई पूर्ण रुपमा सचेतना अपनाउन आह्वान बारम्बार गर्दै आएका छन् ।
तर, कतिपय व्यक्तिहरुले भने कोरोना संक्रमण रोकथाम र नियन्त्रणमै चुनौति हुने गरी चरम लापरबाही गर्ने गरेका पछिल्ला केही घटनाहरुले देखाएको छ ।
काठमाण्डौका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा चैत ५ गते लण्डनबाट कतार एयरवेजको जहाज हुँदै काठमाणडौ आएको एउटा परिवारको समेत यस्तै लापरबाही देखिएको छ । त्यो परिवारको लापरबाहीले अपार्टमेन्टमै बसोबास गरिरहेका ४ सय बढी परिवारका १७०० बढी व्यक्ति, उनीहरुको घरमा आउने कामदार तथा अन्य व्यक्ति, आसपासका पसल, मार्टमा काम गर्ने व्यक्ति र तिनका परिवार र आसपासका घर तथा त्यहाँको सदस्यहरु समेत एकैपटक जोखिममा परेका हुन् ।
सनसिटीको ए ब्लकको टावरको १५ औं तलामा बसोबास गर्ने परिवारमा ८१ वर्षीया आमा र ५८ वर्षीय छोरामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । बुहारीको दोश्रो रिपोर्ट आइसकेको छैन।
परिवारका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सनसिटी अपार्टमेन्ट, आसपासका क्षेत्र, काँडाघारी क्षेत्र, पेप्सीकोला(पुरानो सिनामंगल) क्षेत्र, गान्धी चौक र आसपासको क्षेत्र, खहरे र आसपासको क्षेत्र, हरहर महादेव र आसपासको क्षेत्र हुँदै मूलपानीसम्मै पनि त्रास फैलिएको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण पुष्टि भएको अपार्टमेन्टमा रहेका अन्य परिवारको समेत नमूना परीक्षणको काम मंगलबारदेखि नै थालिसकेको छ ।
योसँगै संक्रमितहरुको कन्ट्याक्ट टेसिंगको काम पनि सुरु गरिएको छ।
मन्त्रालय स्रोतका अनुसार संक्रमण पुष्टि भएका ती परिवार कतार एयरवेजको ६४४ फ्लाइट नम्बरबाट काठमाण्डौ अवतरण गरेको थियो । सो फ्लाइटमा उनीहरुसँगै १५३ यात्रु सवार थिए ।
अब प्रहरीको सहयोगमा सरकारले ती १५३ यात्रुकै खोजी थालेको छ । ती १५३ यात्रुहरुकै स्वास्थ्य परीक्षण गरिनेछ । तीमध्ये यदि कसैमा संक्रमण भेटिएमा त्यसले फेरि अर्को जोखिम बढाउनेछ ।
सनसिटी अपार्टमेन्ट स्रोतका अनुसार लण्डनबाट आएका ती परिवार सेल्फ क्वारेन्टाइनमा थिएनन् । अरु छिमेकीले आग्रह गर्दा पनि निस्फीक्रि डुल्ने गरेका थिए ।
सनसिटी अगाडि क्यू मार्ट र ग्लोबल मार्टका दुई ठूला सपिङ सेन्टर छन् । सनसिटीको मूल गेटअगाडि लहरै दैनिक उपभोग्य वस्तु उपलब्ध हुने दर्जनौ पसलहरु छन् । सो आसपास ५ वटा मेडिकल पसल तथा क्लिनिकहरु छन् ।
चैत ५ गते नेपाल अवतरण भएका उनीहरु १० गतेसम्म यीमध्ये धेरै क्षेत्रमा पुगेका प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
उनीहरुले सो क्रममा सनसिटीसँगै राखिएका बैंकका एटीएम समेत प्रयोग गरेका थिए । उनीहरुले अधिकांश समय नजिककैको क्यूमार्टबाट कार्डबाट सामान खरीद गर्ने गरेका थिए ।
यसरी हेर्दा सनसिटी अगाडिको एटीएम बुथ(जहाँ तीनवटा बैंकको एटीएम छन्), क्यूमार्ट, अन्य पसल तथा बजार क्षेत्र र त्यहाँ आउनेहरु समेत उच्च जोखिममा पर्नसक्ने अवस्था देखिएको छ ।
मन्त्रालयका एक अधिकारीले ती व्यक्तिले लण्डनबाट आएपछि तत्काल स्वास्थ्य जाँच गराई आफू पूर्ण अनुशासित भई सेल्फ क्वारेन्टाइनमा बस्नुपथ्र्यो । तर, त्यसो गरेको नदेखिएकोले जोखिम उच्च रहेको उनले दाबी गरे ।
ती संक्रमितमध्ये छोरा र बुहारी सनसिटी अपार्टमेन्टको वेलफेयर सोसाइटीको चैत ८ मा भएको चुनाव तथा वार्षिक अधिवेशनमा समेत सहभागी भएका प्रत्यक्षदर्शी बताउँछन् । सो कार्यक्रममा २५० बढी जम्मा भएका थिए । सो भेलामा संक्रमण रोकथामका लागि पूर्ण सजगता अपनाइएको सोसाइटीका सचिव तिलक खतिवडाले दाबी गरे पनि अवस्था उनले भनेजस्तो व्यवस्थित नभएको सहभागी बताउँछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago