– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । गत वर्ष भदौ ३ गते लगभग ३२०० को उच्च विन्दु चुमेको सेयर बजारका लागि पछिल्लो एक वर्षको अवधि निराशाजनक रह्यो। कहिले नेपाल धितोपत्र बोर्ड (सेबोन) को कदम त कहिले नेपाल राष्ट्र बैंकको नीतिले बजारमा निरन्तर प्रहार भइरह्यो। 

पछिल्लो एक वर्षको अवधिमा बजार घटेर एकपटक २२६० मा आएर पुनः २९०० सम्म पुगेको छ। त्यसपछि झरेको बजार एकपटक १८०६ सम्म आएर फेरि २२०० सम्म पुगेर आज २०४० मा बन्द भएको छ।

बजार हालसम्मकै उच्च विन्दुमा कारोबार २१ अर्ब रुपैयाँभन्दा माथि भएको थियो। तर, पछिल्लो समय कारोबार पनि सुस्त बनेको छ। हाल कहिलेकाहीँ मात्र ४–५ अर्ब रुपैयाँ कारोबार हुने गरेको छ। हाल प्रायः औसत दैनिक डेढ अर्ब रुपैयाँबराबरको कारोबार हुने गरेको छ। 

केही समयता सबैतिर माहौल सकारात्मक बन्दै गएको छ। तर, बजार भने बढ्न सकेको छैन। 

बजारमा ब्रोकर हाउस, मर्चेन्ट बैंक, म्युचुअल फन्ड र इन्भेस्टमेन्ट कम्पनीहरुको सूक्ष्म अध्ययन गर्ने हो भने अवस्था भिन्न पाइन्छ। ‘अहिले एउटै ब्रोकरले बजारबाट १० करोड रुपैयाँसम्म उठाउन बाँकी छ’, एक ब्रोकर सञ्चालक भन्छन्, ‘अहिले त पैसा उठाउन कर्मचारी नै लगानीकर्ताका घर–कार्यालय खटाउन थालेका छौँ।’

यति गर्दा पनि पैसा उठेन भने कठोर कदम चाल्नुपर्ने अवस्था आउन सक्ने ती ब्रोकर सञ्चालक बताउँछन्। ‘हामीले पनि ब्याज तिर्नुपर्छ, एक वर्षदेखि बजार घटेको घट्यैछ’, ती ब्रोकर सञ्चालकले भने, ‘ग्राहकले सेयर किनेको लामो समय भइसक्दा पनि १ रुपैयाँ पनि दिँदैनन्।’ 

धेरैले अहिले आफूसँग भएको सेयर बेचेर थप सेयर किन्ने गरेको ती सञ्चालक बताउँछन्। ‘एउटा सेयर बेच्यो अनि अर्को किन्यो’, उनले भने, ‘खासमा हाल बजारमा ‘स्टक एक्सचेन्ज’ बल्ल भएको छ।’

पैसा नै नआएपछि बजार माथि जाने कुरै नहुने ती ब्रोकर सञ्चालकको तर्क छ। ‘हाम्रोमात्रै होइन, सबै ब्रोकरको अवस्था उस्तै छ’, ती सञ्चालकले भने।

यतिमात्रै नभएर अहिले ब्रोकर हाउसमा फाइनान्स कम्पनीका कर्मचारी हरेका महिना १३ प्रतिशत ब्याज दिने र जुनसुकै बेला रकम झिक्न पाउने भन्दै नयाँ–नयाँ स्किम लिएर डुलिरहेका भेटिन्छन्। ‘पहिला ऋण लिन ग्राहक पठाइदिनुपर्यो भन्थे’, अर्का एक ब्रोकर सञ्चालकले भने, ‘अहिले निक्षेप तान्न फाइनान्सका कर्मचारीहरु ब्रोकरमै आउन थालेका छन्। यस्तो अवस्थामा बजार माथि किन गएन भनेर धेरै सोच्न आवश्यक नै छैन।’