-अर्जुन तिमिल्सिना 
काठमन्डौं । धितोपत्र कारोबारमा अल अर नन (एओएन) अर्थात ‘कि सबै देऊ कि त दिँदै नदेऊ’ भन्ने फिचर हटाइँदा लगानीकर्ताहरुलाई समस्या पर्न थालेको छ । यो फिचर नहुँदा उनीहरुको लागत समेत बढ्न थालेको जानकारहरुले बताएका छन् । 

बजार बुल भएको बेलामा व्यापक दुरुपयोग भएको भन्दै केही समय पहिले खरिद तथा विक्री दुवै तर्फबाट एओएन फिचर हटाइएको थियो । 

नेपाल धितोपत्र बोर्डले २०७८ साल जेठ ३० गते खरिदतर्फ अनावश्यक माग सिर्जना गरेर मूल्य बढाउन चलखेल गरेको आशङ्कामा खरिदतर्फको एओएन सुविधा हटाएको थियो। तर बिक्रीतर्फ नभएको सेयर राख्न नसक्ने तथा सिस्टमले नै रोक्ने भन्दै धितोपत्र बोर्डले बिक्रीतर्फको यो सुविधा सुरुमा हटाएको थिएन । पछि खरिद तथा विक्री दुवै तर्फबाट एओएनका सुविधा हटाइएको छ । 

खासगरी अहिले दोस्रो बजारमा एओएन हट्दा अड्लट अर्थात (१० कित्ताभन्दा तल)को कित्ता लगानीकर्ताको डिम्याटमा जम्मा हुने गरेको छ । यस्तो सेयरलाई लगानीकर्ताले बेच्न परेमा कि आफैं खरिदकर्ता खोज्नु पर्छ वा त्यही कम्पनीको फेरी १० कित्ताभन्दा बढी सेयर किनेर पुनः बेच्नुपर्ने हुन्छ । 

केही कम्पनीहरु मर्जमा जाँदा पनि अडलटको सँख्या बढेको छ । उदाहरणका लागि कसैसँग १० कित्ता सेयर रहेको र यदि १ः ९ स्वाप रेसियो भएको खण्डमा लगानीकर्ताको खातामा ९ कित्ता सेयर हुने पनि हुन्छ । अड्लट खासगरी ए भन्ने लगानीकर्ताले १०० कित्ता सेयर बेच्न राखेकोमा बी भन्ने लगानीकर्ताले ९९ कित्ता मात्रै किनिदिएमा ए भन्ने लगानीकर्ताको खातामा १ कित्ता मात्रै सेयर हुन जान्छ । यदि एओएन सुविधा भएको खण्डमा बी भन्ने लगानीकर्ताले कि एकसय कित्ता नै किन्नुपथ्र्यो । अन्यथा  उसको अर्डर नै क्यान्सिल हुने हुन्थ्यो । 

तर पछिल्लो समय ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरुले एओएन हट्दा अड्लट बढेको गुनासो गर्ने गरेका छन् । केही लगानीकर्ताहरु एओएन हट्दा सेयर कारोबार हुँदा सेयर टुक्रा–टुक्रा भएर आउने वा जाने हुने र यसले ब्रोकर कमिशनको लागत बढेको पनि तर्क गर्छन । 

हाल प्रतिकारोबार ५० हजारसम्मको कारोबारमा ०.४ प्रतिशत ५०,००० देखि ५ लाखसम्म ०.३७ प्रतिशत, ५,००,००१ देखि २०,००,००० लाखसम्म ०.३४ प्रतिशत र त्यहाँभन्दा माथि ०.३० प्रतिशत लागत लगानीकर्तालाई लाग्ने गर्छ । यदि एओएन भएको खण्डमा सेयर टुक्रा–टुक्रा नहुने र लागतको माथिल्लो स्ल्याबमा नपर्ने केही लगानीकर्ताको तर्क छ । 

स्टक ब्रोकर एसोसिएशन अफ नेपाका पूर्व अध्यक्ष सन्तोष मैनाली अड्लटको समस्या रहेको स्वीकार्छन । मैनालीको विचारमा हाललाई एओएन पुनः ल्याउनुभन्दा अड्लटको कारोबारलाई सहज हुने गरी व्यवस्था गर्नुपथ्र्यो । 

नेप्से र सीडीएसीका केही उच्च अधिकारीहरुले पनि एओएन हटेपछि लगानीकर्ताहरुलाई नै समस्या र लागत बढेको बताए।