काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई चलायमान बनाउँदै सही बाटोमा ल्याउन आम उपभोक्ताको आत्मविश्वास बढाउन आवश्यक रहेको बताएका छन् । 

काठमाडौँमा नेपाल जग्गा तथा आवास विकास महासंघद्वारा आयोजित रियल स्टेट व्यवसायी वृहत भेला २०८० लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महासंघ अध्यक्ष ढकालले सबै मिलेर आम उपभोक्ताको आत्मविश्वास बढाउनुपर्ने बताए । 

“अर्थतन्त्रका बाह्य सूचकहरु सकारात्मक देखिए पनि आम उपभोक्ताको आत्मविश्वास बढ्न नसक्दा अर्थतन्त्र चलायमान हुन सकेको छैन । अर्थतन्त्र चलायमान बनाउन र सही ट्रयाकमा ल्याउन आम उपभोक्ताको आत्मविश्वास बढाउन जरुरी हुन्छ । यसमा अर्थतन्त्रका सबै सरोकारवाला मिलेर अगाडि बढ्नुपर्छ, ” उनले भने । 

उनले आम उपभोक्ताको कन्फिडेन्स बढाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन महासंघले यही असोज २५ गते अर्थतन्त्रका सबै सरोकारवाला पक्षलाई भेला गरी प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा वृहत राष्ट्रि छलफलको आयोजना गर्न गइरहेको जानकारी गराए ।

“अर्थतन्त्रका सबै सरोकारवालाहरु एक ठाउँमा आएर स्पष्ट रोडम्याप नबनाई संकटको समाधान हुँदैन । त्यसका लागि सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाहरुको सहभागितामा वृहत आर्थिक बहस संचालन गरी समाधानको रोडम्याप पहिल्याउने प्रयास नेपाल उद्योग वाणिज्य महासंघले थालेको छ । यसमा सबैको साथ र सहयोगको आवश्यकता छ,” उनले भने । 

उनले हालका चुनौति तथा आसन्न संकटबाट व्यवसाय तथा अर्थतन्त्रलाई जोगाउन आर्थिक गतिविधि बढाउन आवश्यक रहेको बताउँदै सरकार र निजीक्षेत्र मिलेर बजारमा माग बढाउने अवस्था सिर्जना गर्नुपर्ने बताए ।

“त्यसका लागि महासंघले सातवटै प्रदेशमा लगानी सम्मेलन तथा राष्ट्रिय स्तरमा चीन र भारत केन्द्रित लगानी सम्मेलनहरु आयोजना गर्दैछ । एकले अर्कोलाई आरोप लगाउनुको सट्टा सबै मिलेर समस्याको समाधान गर्ने हो भने अर्थतन्त्र लयमा ल्याउन सकिन्छ,” उनले थपे । 

अध्यक्ष ढकालले निजी क्षेत्रका सुझावका आधारमा नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गरेको बताए ।