काठमाण्डौ । सेयर बजारमा गरिएको लगानीको बिषयमा अर्थमन्त्रीले दिएको विवादास्पद अभिव्यक्ति, त्यसलाई समयमै स्पष्ट पार्न नगरिएको प्रयास, बजार सुधारका लागि नयाँ सरकारको उदासीनता र लगानीयोग्य रकम अभावका कारण ब्याजदरमा भएको होडबाजी लगायतका कारण लगानीकर्ताको मनोबल निरन्तर खस्किदा गत एक महिनामा नेप्से परिसूचक ९६.०२ अंकले घटेको छ । यो अवधिमा लगानीकर्ताले ११६ अर्ब रुपैयाँ गुमाएका देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार गत माघ २८ गते बजार पूँजीकरण १६ खर्ब १९ अर्ब रहेकोमा त्यसको ठीक एक महिनापछि अर्थात फागुन २७ गते १५ खर्ब ३ अर्बमा सीमित बन्न पुुगेको छ । यो हिसाबले लगानीकर्ताले एक महिनाको छोटो अवधिमै ११६ अर्ब रुपैयाँ गुमाएका देखिएको हो । 

माघ २८ गते १३८०.२९ को विन्दूमा रहेको नेप्से परिसूचक समेत घटेर फागुन २७ गते १२८४.०९ मा सीमित बन्न पुुगेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुुअघिसम्म सेयर बजारको बिषयमा सकारात्मक जस्तो देखिन्थे । उनले आफूलाई भेट्न आएका लगानीकर्तालाई बामगठबन्धनको हाउगुजी देखाएर सुनियोजित ढंगले बजार घटाइएको र लगानीकर्तामा आफूहरुले बनाउन लागेको सरकारप्रति अविश्वासको जग बनाउन खोजिएको भन्दै आक्रोश पोख्ने गरेका थिए । उनले बजार घट्नुुपर्ने कुनै कारण नभएको दाबी गर्दै नेप्सेका हाकिमले झै सेयर कारोबारमा कर नलाग्नेसम्मको अभिव्यक्ति दिन भ्याएका थिए । तर, जब उनी प्रधानमन्त्री बने, त्यसपछि दैनिकजसो पहिरो व्यहोरिरहेको बजारको बिषयमा उनको प्रष्ट उदासीनता देखिएको छ । आफ्ना सरकारका अर्थमन्त्रीको अभिव्यक्तिले बजार तीव्र घटिरहँदा समेत ओलीलाई त्यसले अझैसम्म छोएको देखिएको छैन । धेरै लगानीकर्ताले अर्थमन्त्रीको अभिव्यक्तिबाट सिर्जित अन्यौलको अवस्थामा बजेटको अर्धवार्षिक समीक्षामार्फत चिर्ने कोशिश हुने अड्कलबाजी गरेका थिए, तर त्यो पनि भएन । यसले समेत सरकारमा जानुुअघि बजारप्रति संवेदनशील देखिएका ओली र उनका सारथीहरु सत्तामा पुुगेपछि उदासीन बनेका देखिएको छ । 

त्यसो त ओली सरकारले आक्रामक ढंगले काम गरिनसक्दै बजारप्रति ऊ पूर्ण रुपमा नकारात्मक छ भनिहाल्दा हतारो होला । तर, लगानीकर्ताको अरबौं डूबिसकेर आउने बजार सुधारको नीतिले खासै अर्थ राख्दैन । चलखेल गर्नेहरुले बिनाकारण बजार घटाइरहेका हुन् र अर्थमन्त्रीकै भूमिकाले बजारको गिरावटमा थप दवाब परेको हो भने सरकारले बेलैमा यसलाई सम्बोधन गर्नुपर्ने हुन्छ । 

ओलीप्रति विश्वास राखेकै कारण उनी प्रधानमन्त्रीमा नियुक्त हुँदै गर्दा बजारमा दोहोरो अंकको उछाल आएको थियो । तर, त्यसपछिका सरकारका क्रियाकलाप्रति लगानीकर्ता विश्वस्त हुन सकेनन् र बरु आशंकाहरु थपिँदै जाँदा बजार निरन्तर घटिरह्यो र यो प्रवृति आइतबारसम्म पनि जारी नै छ ।