काठमाण्डौ । एकर्ड फर्मास्युटिकल्स लिमिटेडले ४ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले १०० अंकित दरका कुल ४ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। आईपीओ निष्कासन तथा बिक्रीमा कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडले नियुक्त गरेको छ।

यस सम्बन्धमा कम्पनी र क्यापिटलबीच मंगलबार सम्झौता भएको छ। काठमाण्डौको नक्सालस्थित क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा एकर्ड फर्मास्युटिकल्सका अध्यक्ष विशाल पण्डित र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन्।

अधिकृत पुँजी रु. ६५ करोड र जारी पुँजी रु. ४८ करोड रहेको एकर्ड फर्मास्युटिकल्सको केन्द्रीय कार्यालय काठमाण्डौको तीनकुने सुविधानगरमा रहेको छ भने ललितपुरको महालक्ष्मी नगरपालिकास्थित लुभूमा औषधि उत्पादन गर्ने कारखाना रहेको छ। 

नेपालका औषधि तथा औषधिजन्य सामग्रीको कारोबारमा लामो समय संलग्न रहेका व्यक्तिहरु तथा अन्य विभिन्न क्षेत्रका विज्ञहरुद्वारा प्रवर्द्धित यो फर्मास्युटिकल्स कम्पनी विधिवत रुपमा सुरुमा २०७० सालमा प्रालिका रुपमा स्थापना भईपछि पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो।

WHO–cGMP को मापदण्ड तथा गाइडलाइनअनुरुप औषधि उत्पादन भवनको निर्माण गरिनुका साथै यन्त्र तथा उपकरणको व्यवस्थापन, जडान एवं उत्पादन प्रक्रिया समेत सोहीअनुरुप सुनिश्चित् गरिएको छ। कुल बिल्ट अप एरिया ६० हजार वर्गफिट रहेको उद्योगको भवनबाट विशिष्ट र विभिन्न प्रकारका गुणस्तरीय औषधिहरु बजारमा ल्याइसकेको यस उद्योगले स्वदेशमात्र नभई विदेशमा समेत निर्यात गर्ने लक्ष्यसहित उत्पादन तथा बिक्री वितरणको आवश्यक व्यवस्था मिलाएको छ। 

हाल मुलुकमा औषधि उत्पादन गरिरहेका थुप्रै कम्पनीहरुमध्ये यो फर्मास्युटिकल्स कम्पनी सर्वसाधारणमा सेयर जारी गर्ने नेपालकै पहिलो औषधि उत्पादक कम्पनीको रुपमा रहने निश्चितप्रायः छ।