काठमाण्डौ । एकर्ड फर्मास्युटिकल्स लिमिटेडले आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन) गत पुस ४ गते आवेदन दिँदै आईपीओ निष्कासनका लाग अनुमति मागेको हो। 

सेबोनले अनुमति दिएमा एकर्ड फर्मास्युटिकल्सले ७ करोड ६ लाख ९० हजार ९०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ७ लाख ६ हजार ९०९ कित्ता आईपीओ जारी गर्नेछ। यो निष्कासन कम्पनीको जारीपुँजीको १२ प्रतिशतले हुन आउँछ। 

एकर्ड फर्मास्युटिकल्सको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। 

एकर्ड फर्मास्युटिकल्स औषधि उत्पादन गर्ने उद्योगका रुपमा सन् २०१३ मा दर्ता भएको कम्पनी हो। कम्पनीले काठमाण्डौ उपत्यकामा ठूलो लगानी तथा अत्याधुनीक उपकरणसहित बृहत् उद्योग सञ्चालनमा ल्याएको थियो र आफ्नो व्यावसायिक उत्पादन फेब्रुअरी २०२१ देखि सुरु गरी व्यावसायिक कारोबार शुभारम्भ गरेको थियो। 

यो कम्पनीको रजिस्टर्ड कार्यालय काठमाण्डौको सुविधानगर (तीनकुने)मा रहेको छ।