काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार ओरालो लागेको छ।

बजार आज ८.२८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८६६.७९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.९२ अंकले घटेर ३५३.०३ को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर ९२ करोड रुपैयाँ बढीको भएको छ। 

बजार जानकार अर्जुन थापा देशमा देखिएको आर्थिक सुस्तताले सेयर बजारलगायत अन्य क्षेत्रमा पनि प्रभावित भइरहेको बताउँछन्। ‘ब्याज अझै महँगो छ’, उनले भने, ‘क्रिप्टोकरेन्सी र इन्धनमा पैसा बाहिर गएको छ।’

बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा पनि सेयर बजार प्रभावित भइहरेको थापाको भनाइ छ। ‘यिनै विविध कारणले बजार माथि जान सकेको छैन’, उनले भने। 

तेस्रो त्रैमासमा पनि बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढ्ला भन्ने त्रास पनि लगानीकर्तामा देखिएको थापा बताउँछन्। ‘तर, विगतलाई हेर्दा पनि फागुन–चैतमा सेयर किनेर साउन–भदौमा लाभांश खाने सिजन भएकोले अहिले सेयर उठाउने बेला हो’, उनले भने, ‘कम्पनीहरुको सेयरभाउ पनि निकै तल आएकोले छानी–छानी किन्ने अवसर पनि छ।’

अर्का बजार जानकार यज्ञ घिमिरे पनि अहिले बजार सुस्ताउनुको मुख्य कारण आर्थिक सुस्तता नै रहेको बताउँछन्। ‘अन्य व्यापार–व्यवसायमा संकुचन आएको छ’, उनले भने, ‘त्यसको असर सेयर बजारमा परेको छ।’

नीतिगत सुधार नहुँदा सेयर लोन बढ्न नसकेको घिमिरे बताउँछन्। ‘ब्याज पनि उच्च रहेको छ’, उनले भने, ‘त्यसैले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्। तर, पनि वैशाख–जेठबाट केही आशा गर्ने ठाउँ भने छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक ०.१९ प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह ०.०४ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा ०.०२ प्रतिशतको बढोत्तरी भएको छ। 

आज वित्त समूह सर्वाधिक १.४२ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह १.२२ प्रतिशतले घट्दा होटेल तथा पर्यटन समूहमा ०.३० प्रतिशत, जलविद्युत समूहमा १.१५ प्रतिशत, लगानी समूहमा ०.९९ प्रतिशत, जीवन बीमा समूहमा ०.२० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४५ प्रतिशत, लघुवित्त समूहमा ०.३९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८३ प्रतिशत र अन्य समूहमा ०.७८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २६९ कम्पनीका २८ लाख ७० हजार ८१९ कित्ता सेयर ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक ४ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको २ करोड ९६ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको २ करोड ९४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ३८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड १३ लाख रुपैयाँ, एक्सेल डेभलपमेन्ट बैंकको २ करोड रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ७८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १ करोड ७५ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको १ करोड ५९ लाख रुपैयाँ र निफ्राको १ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज कालिञ्चोक दर्शनका लगानीकर्ताहरु मालामाल भए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको छ। 
यो दिन सामलिंग पावरको सेयरधनीहरु सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ।