काठमाण्डौ । सेयर तथा नगद लाभांश र हकप्रदको प्रस्ताव पारितका लागि साधारणसभा आह्वान गर्ने र सो प्रयोजनका लागि बुक क्लोज गर्ने कम्पनीमा लगानीकर्ता थुप्रिँदा बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

बुधबारको कारोबारले राम्रो बोनस वितरणको घोषणा गरेका वा त्यस्तो संभावना बोकेका कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो । यिनै कम्पनीहरुको देनका कारण घट्दो बजारमा एकाएक चमक देखिएको हो ।  

बजारको चमक फर्काउने काम बैंकहरुले सहज बनाएका सेयर धितोकर्जाले पनि गरेको अनुमान गरिएको छ । बैंकहरुले पछिल्लो कालमा लगानीयोग्य रकम पर्याप्त भएका कारण सहज ढंगले सेयर धितो राखेर कर्जा प्रवाह गर्न थालेका छन् । यसले लगानीको समस्या निराकरण भई कर्जा लिएर दोश्रो बजारमा लगानी बढाउनेहरु उत्साहित भएका देखिएको छ । स्वार्थ समूहको चलखेल भएन भने अब बजार बढ्नुपर्ने अवस्था देखिएको एक विश्लेषक दाबी गर्छन् । ‘कम्पनीहरुले लाभांशको बहार ल्याएका छन्, सेयरधितो कर्जा निकै सहज भएको छ ।’ ती विश्लेषकले भने–‘अब पनि बजार बढेन भने सोच्नुुहोस् यहाँ लगानीकर्ता डूूबाउने खेल जारी छ, सबैको मिलेमतोमा यो खेल भइरहेको छ ।’ 

यो दिन नेप्से परिसूचक ११.९४ अंकले बढेर १५६६.५० अंकको उचाईमा फर्किएको हो । विगत केही दिनदेखि बजार निरन्तर घटिरहेको थियो । यो साता यसअघि भएका कारोबार दिनहरुमा नेप्से परिसूचक उच्च अंकले घटेसँगै कारोबार रकममा पनि खासै सुधार हुन सकेको थिएन । बुधबार कारोबार रकम सामान्य घटे पनि परिसूचक भने बढेको हो । परिसूचक बढेको बेला कारोबार रकम घट्नु राम्रो संकेत भने होइन, तर बुधबार कारोबार रकमतर्फको गिरावट सामान्य भएकोले अत्तालिनुपर्ने अवस्था भने छैन ।  

बुधबार उत्पादनमूलक बाहेक सबै समूहको उपसूचकमा बढोत्तरी भएको छ । उत्पादनमूलक ४८.०२ अंकले घट्यो । 

बैकिङ समूह ११.११, होटल समूह २२.०३, विकास बैंक समूह २०.६९, जलविद्युत ३.०४, बित्त समूह १.२२, बिमा समूह ५५.२५ र अन्य समूह ९.२५ अंकले बढेका छन् । 

‘क’ वर्गका कम्पनीको कारोबारमा सुधार आउँदा सेन्सेटिभ इण्डेक्स २.७२ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.९५ अंकको बढोत्तरी भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार बजारमा १ सय ६४ कम्पनीका १६ लाख ४३ हजार २ सय ५९ कित्ता सेयर ८३ करोड ४३ लाख ४ सय ६६ रुपैयाँमा किनबेच भयो । 

आकर्षक नगद र सेयर लाभांश घोषणा गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमा लगानीकर्ता थुप्रिदा यो बैंकले सबैभन्दा बढी ७ करोड ४ लाख बढीको कारोबार गर्यो । यस्तै, गुराँस लाइफ इन्स्योरेन्सको ५ करोड २४ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ३६ लाख, नबील बैंकले ३ करोड २१ लाख, छिमेक लघुवित्त विकास बैंकले २ करोड ९८ लाख, निर्धन उत्थान बैंकले २ करोड ८३ लाख बढीको कारोबार गरे । नबील बैंकको २ करोड ७० लाख बढीको संस्थापक सेयर कारोबार भएको बजारमा स्ट्याण्डर्ड चार्टर्डले २ करोड ३४ लाखको सेयर किनबेच भयो । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड बढीको संस्थापक सेयर किनबेच भएको दिन सानिमा बैंकले १ करोड ९१ लाख बढीको कारोबार गर्यो । यसरी यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, २ स्थान बिमा कम्पनी र बाँकी २ स्थान विकास बैंक समूहले ओगटे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन महिला सहयात्रा माइक्रोफाइनान्स र आरएसडिसी लघुवित्तका लगानीकर्ता मालामाल बने । यी दुुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । यो दिन मिथिला लघुवित्त विकास बैंकको सेयर मूल्य पनि ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो ।

बुधबार सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीमका इकाईधनीले धेरै गुमाए । यो म्युुचुुअल फण्डको इकाई मूल्य ९ प्रतिशतको हाराहारीमा घट्यो । यस्तै, ङादी ग्रुप पावर लिमीटेडको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले घट्यो । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १ को इकाई मूल्यमा समेत ८ प्रतिशतकै हाराहारीमा पहिरो गयो ।