काठमाण्डौ । नेकपा एकीकृत समाजवादीले सोमबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। बानेश्वरस्थित पार्टी कार्यालयमा एकीकृत समाजवादीका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्। 

घोषणापत्रमा ‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्दै आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवद्र्धन गर्ने गरी व्यवस्था मिलाइने उल्लेख छ। यस्ता परियोजनामा लगानी गर्न स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरुलाई प्रोत्साहित गर्ने र निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरुलाई पनि सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गर्न पहल गरिने प्रतिबद्धता गरिएको छ। 

नेपालको पूर्ण क्षमता अनुसारको जलविद्युत् उत्पादन गर्न र उत्पादित विद्युत्को उपयोग तथा व्यपारका लागि सरकारी, सहकारी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निजी क्षेत्रलाई संलग्न गराइने पनि संकल्प गरिएको छ। स्वदेशी लगानीमा निर्माण गर्न समय लाग्ने परियोजनाहरु राष्ट्रियहित अनुकूल हुने गरी अन्तर्राष्ट्रिय समुदायलाई निर्माणको जिम्मा दिने व्यवस्था गर्न पहल गरिने घोषणापत्रमा उल्लेख छ। 

घोषणापत्रमा विद्युत् चुहावट रोक्न र जोखिम न्यून गर्न अत्याधुनिक प्रविधियुक्त सुरक्षित तार उपयोग गर्ने र सहर तथा ग्रामीण क्षेत्रमा प्रयोग हुने सम्पूर्ण विद्युत् प्रसारण लाइन भूमिगत गर्न जोड दिइने, ग्रामीण विद्युतीकरणलाई अभियानका रुपमा सञ्चालन र विशेष आर्थिक क्षेत्र तथा उद्योग ग्रामका लागि डेडिकेटेड विद्युत लाइन जडान गरिने संकल्प गरिएको छ। 

आत्मानिर्भर अर्थतन्त्र निर्माण गर्न राष्ट्रिय उद्योगहरुलाई प्रोत्साहन गरी महशुलमा छुट दिने व्यवस्था मिलाइने पनि घोषणा गरिएको छ। 

२०० युनिटसम्म विद्युत महसुलमा छुट

तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिक रुपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने तथा गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडान र बिजुली उपभोगमा सहुलियत दिन पहल गरिने प्रतिबद्धता गरिएको छ। 

पूर्वदेखि पश्चिमसम्म मेगा नहर

घोषणापत्रमा एकीकृत समाजवादीले पूर्वदेखि पश्चिमसम्म मेगा नहर बनाउने उल्लेख गरेको छ । नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई एकअर्कासँग जोडी ‘पूर्व–पश्चिम मेगा नहर’ बनाई सिँचाइ, कृषि सडक, खानेपानी तथा जलमार्ग र निश्चित स्थानहरूमा पर्यटकीय स्थथहरूको विकास गर्ने गरी राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गर्ने पार्टीले प्रतिबद्धता गरेको छ। 

कृषिमा आकर्षित गर्न युवालाई १० लाखसम्म निब्र्याजी ऋण

घोषणापत्रमा विदेशबाट फर्केका युवालाई कृषि पेसामा आकर्षित गर्न १० लाखसम्म निर्ब्याजी ऋण दिने व्यवस्था गर्न अभियान नै सञ्चालन गरिने उल्लेख छ।