काठमाण्डौ । सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकबाट एकीकृत निर्देशनमा भएको संशोधनलाई सकारात्मक ढंगले नै लिनुपर्ने बताएका छन्। सेयर लगानीकर्ताले उठाउँदै आएका मागहरु पूर्ण रुपमा सम्बोधन नभए पनि आगामी दिनमा राष्ट्र बैंकले थप लचिलो नीति लिँदै जाने आशा गर्न सकिने उनीहरुको भनाइ छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले एकीकृत निर्देशनमा भएको संशोधनले लगानीकर्ताहरुलाई केही राहात भएको बताए। ‘हामीले सेयर धितो कर्जामा १२ करोडको क्याप हटाउनुपर्छ भन्ने माग गरेका थियौँ, त्यो पूरा भएन’, उनले भने, ‘तर, कर्जाको सीमा बढाएर व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोड रुपैयाँ पुर्याइएको छ। यसलाई सकारात्मक ढंगले नै लिनुपर्छ।’

कर्जाको सीमा बढेसँगै ठूला लगानीकर्ता पनि बजार प्रवेशको महौल बनेको ढकाल बताउँछन्।

अध्यक्ष ढकालले सेयर कर्जासँग घर–जग्गा र हायर पर्चेज कर्जामा राष्ट्र बैंकले ल्याएको लचिलो व्यवस्थाले अब अर्थतन्त्र चलायमान हुने आशा गर्न सकिने बताए। ‘अर्थतन्त्र चलायमान भएसँगै सेयर बजारको महौल पनि सकारात्मक बन्छ’, उनले भने। 

सेयर धितो कर्जामा लगाइएको जोखिम भार यथावत राखेकोले आगामी दिनमा यो व्यवस्थामा पनि राष्ट्र बैंकले लचिलो बन्न सक्ने ढकालले बताए। ‘राष्ट्र बैंकले आफैँले कसेको व्यवस्था विस्तारै खुकुलो पार्दै लगेको छ’, उनले भने, ‘आगामी मौद्रिक समीक्षामार्फत थप लचिलो व्यवस्था हुन सक्ने आशा गर्ने ठाउँ छ।’

सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल पनि एकीकृत निर्देशनमा भएको संशोधनलाई सकारात्मक ढंगले नै लिनुपर्ने बताउँछन्। ‘चौतर्फी दबाबपछि राष्ट्र बैंकले सेयर कर्जा, घर–जग्गा कर्जा र अटो कर्जामा केही लचिलो व्यवस्था ल्याएको छ’, उनले भने, ‘यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने देखिन्छ।’

सेयर धितो कर्जाको सीमा हटाउनुपर्ने र जोखिम भार घटाउनुपर्ने लगानीकर्ताको माग सम्बोधन नभए पनि हिजोको संशोधनले राष्ट्र बैंकले विस्तार लचिलो बन्दै जाने मनस्थितिमा रहेको प्रस्ट हुने फुल्लेल बताउँछन्। ‘अहिले अर्थतन्त्र पनि सकारात्मक ढंगले अगाडि बढिरहेको छ, तरलता पनि सहजै छ’, उनले भने, ‘त्यसैले अब सेयर बजारलाई कस्ने ठाउँ राष्ट्र बैंकसँग छैन। यसले अब सहज नीति लिँदै जाने देखिन्छ।’

समग्रमा अहिलेको संशोधित निर्देशिकालाई आंशिक रुपमा सकारात्मक नै रहेको मान्नुपर्ने फुल्लेलको विचार छ।