काठमाण्डौ । मंगलबार कोरोना भाइरसबाट संक्रमितको संख्या एकैदिन ९ जनाले बढेर ४० पुगेको छ । 

यो दिन उदयपुुरमै ९ जना थप कोरोना संक्रमित फेला परेका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेरअघि उदयपुरकै एक ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको बताएको थियो । 

ती पुरुष अलावा कोशी अञ्चल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको भन्दै सो रिपोर्टको पुनर्पुष्टिका लागि शंकास्पद ८ जनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर परीक्षण गराइएको थियो । त्यहाँ गरिएको परीक्षणमा समेत उदयपुरका थप ८ जनालाई नै कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयस्थित स्रोतले जानकारी दिएको छ । 

यसरी एकैदिन उदयपुरबाट ९ संक्रमित थपिएका छन् । मंगलबार थपिएका ९ संक्रमित सबै पुरुष हुन् । 

यसअघि उदयपुरबाटै १३ संक्रमित भेटिइसकेका थिए । यसअघि भेटिएका संक्रमितहरुको सम्पर्कमा गएकाहरुको नमूना परीक्षण गर्दा थप संक्रमित फेला परेका हुन् । 

अब योसँगै उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या २२ पुगेको छ । कुल संक्रमितको संख्या ४० पुगेको छ । 

यसमध्ये निको भएर घर फर्किनेको संख्या ४ रहेको छ ।