काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पछिल्लो २४ घन्टाको अवधिमा ९१७ जनाको ज्यान गएको छ।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार गत जनवरी १० मा पहिलो संक्रमण पुष्टि भएयता अमेरिकामा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो। पछिल्लो २४ घण्टामा अमेरिकामा थप १५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। 

अमेरिकामा बिहीबार बिहान मृतकको संख्या ५ हजार ११६ पुगेको छ। संक्रमितको संख्या भने २ लाख १५ हजारभन्दा बढी पुगेको छ।

न्युयोर्कमा मात्रै अहिलेसम्म १ हजार ९४१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। न्युयोर्कमा संक्रमितको संख्या करिब ८३ हजार पुगेको छ। 

न्युयोर्कको छिमेकी राज्य न्यु जर्सीमा पनि कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको छ। न्यु जर्सीमा २६७ को मृत्यु भएको छ भने करिब १८ हजारमा संक्रमण देखिएको छ।

यसैगरी स्पेनमा पछिल्लो २४ घन्टाको अवधिमा ८६४ जनाको ज्यान गएको छ। योसँगै स्पेनमा हालसम्म ९ हजार ३८७ जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या १ लाख ४ हजार ११८ पुगेको छ। 

कोरोनाले इटलीमा सबैभन्दा बढी १३ हजार १५५ जनाको ज्यान लिएको छ। इटलीमा हालसम्म १ लाख १० हजार ५७४ जना संक्रमित भएका छन्। 

योसँगै युरोपमा मात्र कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजारमाथि पुगेको छ। 

कोराना भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वर ४७ हजार २०८ को मृत्यु भइसकेको छ। त्यस्तै संक्रमितको संख्या ९ लाख ३५ हजारभन्दा बढी पुग्दा १ लाख ९३ हजार ७०० भन्दा बढी निको भएका छन्। – एजेन्सी